निजगढमा सतहको विकल्प बन्दै भूमीगत सिचाई (भिडियो)
वि.सं.२०८२ जेठ ११ आइतवार २१:३५

बारा–निजगढ नगरपालिकाले सतह पानीबाट सिचाई पुग्न नसकेको ठाउँमा डिप बोरिङ गर्न सुरु गरेको छ ।
चालु आर्थिक वर्षमा ४ वटा डिप बोरिङ गर्ने योजना अनुसार बजेट विनियोजन गरिएकोमा निजगढ वडा नं. ९ मा एक कार्यक्रमका विच बोरिङ शुभारम्भ गरिएको छ ।
नगर प्रमुख सुरथ पुरीले धार्मिक विधि अनुसार डिप बोरिङ शुभारम्भ गरेका हुन् । यो वर्ष निजगढको सिंगौलमा ३ स्थान र वडा नं. ९ मा एक स्थानमा भुमिगत सिंचाइको काम सुरु गर्न लागिएको नगर प्रमुख सुरथ पुरीले बताएका छन् ।

भुमिगत सिंचाइसँगै पानीको रिचार्ज गर्ने विधिमा समेत ध्यान दिनुपर्नेमा जोड दिदै उनले त्यस कार्यलाई अघि बढाउन प्रदेश सरकारसँग प्रस्ताव गरिएको जानकारी दिएका छन् ।
निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले वडा कार्यालयको १२ लाख र नगरपालिकाबाट १२ लाख गरि २४ लाख बजेट बिनियोजन गरि डिप बोरिङ जडान कार्य सुरु गरिएको बताउँदै त्यसलाई थप बजेट आवश्यक पर्ने भएकाले नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।
डिप बोरिङ जडान गर्न स्थानीय तीन जनाले जग्गा दान गरेका छन् । जग्गा दाता शिद्धिलाल लामाले जग्गाधनीको उचित सम्मान हुनुपर्ने भन्दै रकम अभाव देखाउँदै अधुरै काम छाड्ने प्रवृत्ति बढेको भन्दै किसानहरु सचेत हुनुपर्ने धारणा राखेका थिए ।
७४ लाखमा निजगढमा ४ वटा डिप बोरिङ खन्ने ठेक्का एसएस वाटर ट्यूबेल कन्ट्रक्सनले पाएको छ । कन्ट्रक्सन कम्पनीका प्रतिनिधि लोकेन्द्र कार्कीले समय अवधिमै काम सकेर ठेक्का हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् ।
वडा अध्यक्ष कटुवालको अध्यक्षता भएको कार्यक्रमको भाईकाजी श्रेष्ठले सञ्चालन गरेका थिए ।
उद्घाटन कार्यक्रममा जग्गा दाता शम्भुबहादुर बुढाथोकी, सरिक मिया अन्सारीसहित निजगढ–९ का वडा सदस्य चित्र प्रसाद चौलागाई, इन्द्र कुमारी सुनार, बबिता श्रेष्ठ, टोल विकास समितिका अध्यक्ष दिपक शिवाकोटी, निमा लामा, समाजसेवी महेसी कुमरलगायत बहादुर थापा, अशिश थापालिया, गिता बस्नेत, दिपक श्रेष्ठ, मनोज रोक्का, सरस्वती थापा क्षेत्री, कुमार खड्काको उपस्थिति रहेको थियो ।
वि.सं.२०८२ जेठ ११ आइतवार २१:३५
















