निजगढ नगरपालिकाले उच्च सतर्कता अपनाउन नगरवासीलाई आग्रह
वि.सं.२०८२ कात्तिक १३ बिहीवार १७:१८

बारा– निजगढ नगरपालिकाले नगरवासी र वडा कार्यालयहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशका विभिन्न स्थानमा जारी वर्षासँगै मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरी जिल्लाभित्र बहने स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालद्वारा जारी सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग र प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णय उद्धृत गर्दै कार्तिक १३ देखि १५ गतेसम्म आकस्मिक वहावको उच्च जोखिम रहने उल्लेख गरिएको छ ।
सूचनामा नगरवासीहरूलाई अत्यावश्यक नभए यात्रा नगर्न, डुवान हुन सक्ने बस्तीका वासिन्दाले सुरक्षित स्थानको पहिचान गर्न, नदी किनाराका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित ठाउँमा सार्न आग्रह गरिएको छ ।
त्यस्तै, धान र अन्य बाली तत्काल भित्र्याउन, विपद् व्यवस्थापन समितिको निर्देशन अनुसार सवारी आवागमन नियन्त्रण गर्न र तीनवटै सुरक्षा निकाय, स्वयंसेवक र स्थानीय तहहरू तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
नगरपालिकाले बाढी, डुवान वा विपद् सम्भावनाका क्षेत्रहरूमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सचेत रहन, आवश्यक परे स्थानीय विपद् व्यवस्थापन समितिसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

वि.सं.२०८२ कात्तिक १३ बिहीवार १७:१८
















