निजगढ वृहत खानेपानी आयोजना निश्चित ! तीस करोड स्रोत सुनिश्चित
वि.सं.२०८१ माघ ८ मंगलवार २०:११

बारा–बाराको निजगढ ९ स्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सेवा क्षेत्रमा खानेपानी योजना सञ्चालन गर्न निजगढ वृहत खानेपानी आयोजना निश्चित भएको छ ।
निजगढ नगरपालिकाको वडा नं. ४ देखि ९ सम्म सेवा क्षेत्र रहेको खानेपानी संस्थाले निजगढ वृहत खानेपानी आयोजना सञ्चालनका लागि दुई वर्षअघि प्रस्ताव पेश गरेको थियो ।
संघीय खानेपानी मन्त्रालयमा मंगलबार भएको छलफलपछि संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोईरालाले फरकनेपालसँग भने–हाम्रो लामो समयदेखिको योजना कायान्वयन हुने भएको छ । ‘निजगढ वृहत खानेपानी आयोजनाको लागि बहुवर्षीय ६१ करोडको बजेट हो,’ उनले भने–अहिले तीस करोड स्रोत सुनिश्चिता भएको छ ।
छलफलका क्रममा खानेपानी मन्त्री प्रदीप यादवले एकमहिना भित्रै तीस करोडको ठेक्का आह्वान गर्ने जानकारी गराउनु भएको अध्यक्ष कोईरालाले बताए ।
बहुवर्षीय आयोजना अन्तर्गत ४ लाख ५० हजार लिटरको दुई वटा ओभरहेड ट्याङकी, दुई वटा बोरिङ र बोरिङमार्फत हिरालाल पार्कमा रहेको सतहको ट्याङकीमा पानी पु¥याएर वितरण गर्ने र संस्थाको कार्यालय निर्माण गर्ने योजना रहेको छ ।
त्यस्तैगरि आयोजनाले साढे चार दशक अघि विछ्याईएको मेनपाईप लाईन विस्थापित र नयाँ विस्तार गर्ने योजना अघि सारेको छ ।
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा संस्थाका अध्यक्ष कोईरालासहित उपाध्यक्ष रमेश अर्यालसँगै बारा क्षेत्र नं. १ का साँसद अच्यूतप्रसाद मैनाली, सांसद मैनालीका स्वकीय सचिव दामोदर मैनाली लगायत सहभागि थिए ।
वि.स. २०३५ सालमा निर्माण सुरु भएको पाईपलाईन २०४२ मा तत्कालिन राजा विरेन्द्र शाहले उद्घाटन गरेको थिए ।
खानेपानी मन्त्रालयले अन्तगर्त जिल्ला खानेपानीले सञ्चालन गरेको निजगढको खानेपानी २०५३ मा समुदायलाई हस्तान्तरण गरेको थियो ।

वि.सं.२०८१ माघ ८ मंगलवार २०:११