skip this

ज्येष्ठ सदस्यबाट प्रतिनिधि सभा सदस्यको शपथ आज हुँदै

मातृभाषामा शपथ लिने सांसदलाई बिहान ११ बजेसम्मको समय

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिएका छन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने छन्। यसअघि उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

शपथ लगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ। शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ। मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ।

शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ।

चियापान कार्यक्रममा राष्ट्रियसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ।

nijgadh-supermart-adz1200-630