टिप्पणी : सत्ता राजनीतिमा ‘ओलीटिक्स’ असफल ! सरकार बनाउने अनि बाहिरिने नियती
मुख्यमन्त्री कार्कीले एक/एक जना मन्त्री नियुक्त गरेपछि ओलीलाई धक्का लाग्यो
वि.सं.२०८० कात्तिक १८ शनिवार १२:१९
राजनीतिका चतुर खेलाडी केपी शर्मा ओली सत्ता हत्याउने खेलमा एकपछि अर्को असफलता व्यहोर्न बाध्य भएका छन् ।
लोकप्रिय मतमा पहिलो नम्बर र संसदको दोस्रो ठुलो दलको नेतृत्व गरिरहेका नेकपा (एमाले) अध्यक्ष ओलीले सत्तामा उक्लि चालेका एकपछि अर्को कदममा धक्का ब्यहोरिरहेका छन् ।
पछिल्लो कोशी सरकार गठनलाई ‘गठबन्धन’ भत्काउने ओलीको सुरुवाती सफलताका रुपमा हेरिएपनि त्यसको शनिबार विहानसम्म आईपुग्दा नतिजा भने प्रतिकुल आयो ।
आफैले बनाईदिएको सरकारबाट राजीनामा बुझाएर एमालेबाट मन्त्री बनेका राम राना बाहिरिएका छन् । मन्त्रिपरिषद् विस्तारमा असहमति जनाउँदै पार्टीको निर्णयअनुसार रानाले मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।
नेकपा (माओवादी केन्द्र) र आफैबाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी) लाई कोशी सरकार बाहिर राख्ने एमालेको चाहाना पुरा भएन् । मुख्यमन्त्री कार्कीले शुक्रबार यी दलबाट एक/एक जना मन्त्री नियुक्त गरेपछि ओलीलाई धक्का लाग्यो ।
कोशीबाट गठबन्धन बगाउने चाहानासहित चालिएको ओली कदम बालुवाटार नभित्रिदै टुङ्गिएको छ । अतः प्रदेशको सत्ता राजनीतिमा ‘ओलीटिक्स’ असफल भएको छ ।
यो असफलता पहिलो भने होईन्, प्रचण्ड नेतृत्वको केन्द्र सरकार निर्माणमा पनि यहि नियति व्यहोरेका थिए अध्यक्ष ओलीले । प्रचण्डलाई कांग्रेससँगको साथ छुटाएर आफैले बनाईदिएको सरकारबाट एमाले यसैगरि बाहिरिएको थियो ।
काँग्रेससँग चुनावी तालमेल गरेर आएको माओवादीलाई काँग्रेसबाट छुटाउने र प्रचण्डपछि आफु प्रधानमन्त्री बन्ने ओलीको अभिलाशा पुरा नहुने देखेपछि ‘असफल’ मुडमा एमालेबाट सरकारबाट फिर्ता भएका थिए ।
दुई तिहाई नजिकको सरकारको नेतृत्व गरेका ‘पावरफुल’ प्रधानमन्त्रीका रुपमा पाएको अवसर गुमाउँदै सत्ताच्युत भएका ओली त्यसयता ओरालो यात्रामा छन् । एक्लै बहुमत ल्याउने भाषण गर्दै हिडेका ओलीलाई मतपरिणामले ‘साईज’ खुम्च्याईदिएको थियो ।
नेकपाको जगमा ‘नम्बर वान’ पार्टी बनाएका ओलीले अर्को चुनाव आउँदा माओवादी अलग दल बनिसकेको थियो भने आफैबाट टुक्रिएर नेकपा (एस) बनेको थियो ।
तेस्रो हैसियतमा रहेको माओवादीले सरकारको नेतृत्व गरिरहदाँ ओलीमित्र छट्पटि हुनु स्वभाविक हो । त्यसैले सत्ता आफु अनुकुल बनाउन ओलीले विभिन्न चाल चल्दै आएपनि त्यो अन्ततः असफल बनिरहेको छ ।
वि.सं.२०८० कात्तिक १८ शनिवार १२:१९