संसदमा प्रेम आलेको ह्याट्रिक, प्रचण्ड चौथो पटक विजयी
वि.सं.२०७९ मंसिर ८ बिहीवार ११:०३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेले संसदमा तेस्रो ह्याट्रिक गरेका छन् । ०७० र ०७४ मा एमालेबाट विजयी बनेका उनी यस पटक एकीकृत समाजवादीबाट सांसदमा निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको डोटीबाट आले ४ हजार २०६ मतान्तरसहित विजयी भएका हुन् । आले २७ हजार २१० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरिन् ।कांग्रेसका बागी नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरे ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाए । एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरे ।
गोरखा–२ मा ५४ हजार ३१ मत खसेकामा ५० हजार ९ सय ७ सदर भएको थियो । प्रचण्ड चौथो पटक सांसद बनेका हुन् ।०६४ मा रोल्पा र काठमाडौं १० बाट विजयी भएका उनी ०७० मा सिरहा ५ बाट विजयी भएका थिए । ०७४ मा चितवनबाट निर्वाचित भएका प्रचचण्ड यसपटक गोरखा २ बाट विजयी भएका हुन् ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार ११:०३

















