सर्लाहीमा एकै रुखको हागाँमा झुण्डिए ‘प्रेम जोडी’
वि.सं.२०७८ पुस ३० शुक्रवार १७:२८

सलार्ही : सर्लाहीमा एउटै रुखको हाँगा झुण्डिएको अवस्थामा दुई युवायुवती फेला परेका छन् ।
सर्लाहीको कविलासी नगरपालिका–८ सिर्सिया गाउँका १९ वर्षीय चन्दन पासवान र १७ वर्षीया गनिता कुमारी राम आँपको रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
स्थानीय रामचन्द्र साहको बगैंचामा झण्डिएकी पासवान सर्लाही क्याम्पस मलंगवामा स्नातक तह पढ्दै गरेका थिए भने राम भने स्कुलदेखि नै पढाई छाडेर घरतिरै बस्ने गरेका थिए ।
घटनास्थल युवती रामको घरभन्दा तीन सय मिटर र युवक पासवानको घरभन्दा डेढ किलोमिटर टाढा रहेको छ ।
पासवान आफ्नै गल्बन्दी र राम भने आफ्नै सलको पासो लगाएर झुण्डिएका थिए । बिहान सौच गर्न जाने स्थानीय बासिन्दाले देखेपछि हतार हतार पासो काटेर दुवैजनालाई झारिसकेपछि मात्र प्रहरी घटनास्थल पुगेको थियो । ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक बेद बहादुर पौडेल नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
बुधबार राती १० बजेसम्म युवती राम घरमै देखिएकाले राती १२ बजेतिर उनीहरु दुवैजना सल्लाहमै झुण्डिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
के भन्छ प्रहरी ?
घटनाबारे दुवै पक्षका अभिभावकलाई पनि केही थाहा नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए । ‘एकै ठाउँमा गएर आत्महत्या गरेको देख्दा पक्कै पनि उनीहरु दुईजनाबीच आपसी प्रेम सम्बन्ध हुन सक्ने देखिएको छ ।’ घटनाबारे विस्तृतमा अनुसन्धान भईरहेको समेत प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
प्रेम सम्बन्ध
युवकका साथीहरुका अनुसार ती दुईजना प्रेम सम्बन्धमा थिए । उमेर पनि नपुगेको र अभिभावकलाई भन्यो भने विवाह गर्न दिदैनन् भन्ने त्रासले दुवै जनाले एकसाथ आत्महत्या गरेको स्थानीयको अनुमान छ । मृतकका अभिभावकहरुबीचको कुराकानी सहित एकीन विवरण बाहिर आईसकेको छैन ।
वि.सं.२०७८ पुस ३० शुक्रवार १७:२८

















