लिफ्ट लिने बाहानामा होटलमा बन्धक बनाएर सामूहिक बलात्कार : अवस्था गम्भीर
वि.सं.२०७८ माघ ९ आइतवार ११:२९

विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका-४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ ।
इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् ।
प्रहरीका अनुसार बेलबारी नगरपालिका-४ की ३० वर्षीया महिलाले शुक्रबारबाट इटहरीमा काम गर्न थालेकी थिइन् । काम सकेर साँझमा उनी गछियास्थित बहिनीको घर फर्कदै थिइन् । उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करीब ६ बजे गछियासम्म पुगिन् । तर बहिनीको घरसम्म पुग्ने बाटो बर्सिइन् ।
बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्याइदिने भन्दै प्रदेश २-०१-००१ च २२७ नम्बरको गाडीमा चढाए । तर उनले गाडी घुमाउँदै सुन्दरहरैचा-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे । सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ । उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङले घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन् ।
सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ । बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् ।
उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ । उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार महिलाको योनाङ्गमा गम्भीर चोट छ । महिलाको शरीरभरी नीलडाम र चोटपटक पनि छ । यौनाङ्गमा चोट लागेका कारण रक्तश्राव भएको हो । शनिबार बिहान महिलाले बहिनीलाई खबर गरेकी थिइन् । बहिनी होटलमा पुगेर अस्पताल लगेकी थिइन् ।
अस्पताल लैजाँदा होटल सन्चालक अर्जुन पनि सँगै आएका थिए । उनलाई अस्पतालबाटै नियन्त्रणमा लिइएको हो । होटल सञ्चालक श्रेष्ठमाथि पीडित महिलाकी बहिनीलाई पनि दुर्व्यवहार गरेको आरोप छ ।
पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेर आएका थिए । उनका श्रीमान् २ महिनाअघि पहाड घर खोटाङ गएका थिए ।
दुई छोरीलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा महिलालाई बेहोस बनाएर करणी गरेको देखिएको प्रहरीले बताएको छ । शुक्रबार रातभर सम्पर्कविहीन भएकी महिलाले शनिबार बिहान साढे ८ बजे बहिनीलाई घटना बारेमा जानकारी गराएकी थिइन् ।
बहिनीलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार बलात्कृत भएको कोठा रगताम्य थियो । उनलाई अस्पताल ल्याउन प्रयोग गरिएको गाडीको सिट पनि रगताम्य देखिएको प्रहरीले बताएको छ ।
वि.सं.२०७८ माघ ९ आइतवार ११:२९
















