भित्र्याउन ठिक्क पारेको पौने २ बिगाहको धानमा आगजनी
वि.सं.२०८० मंसिर २४ आइतवार २२:०७

राैतहट-रौतहटको पश्चिम भेगमा रहेको फतुवा विजयपुर नगरपालिकाका एक किसानको खेतमा भित्र्याउन ठिक्क पारेको धानमा अज्ञात समूहले आगो लगाएर जलाइदिएको छ ।
फतुवा विजयपुर – २ का किसान लक्ष्मी नारायण यादवले पौने २ बिगाह खेतमा लगाएको धान शनिबार राती साढे ९ बजेतिर आगो लगाइदिएका हुन् ।
आगलागीबाट सबै धान जलेर खरानी भएको किसान यादवले बताए । सबै खेतको धान एकै ठाउँ थुपारेर आइतबार थ्रेसर लगाउने तयारी गरेकोमा शनिबार रातीनै पेट्रोल छर्किएर आगो लागइदिएको यादवको भनाइ छ ।
यादवका अनुसार आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको छ । ‘वर्षभरीको मेहनत एक गेडा धान पनि भित्र्याउन नपाइ खरानी बनाइदिए’ दुःखी हुँदै यादवले भने, ‘कसले गर्यो किन गर्यो केही बुझ्न सकेको छैन् । म खेतमा पुग्दा त दनदनी आगो मात्र दन्किरहेको थियो ।’
उनले घटना बारेमा प्रहरीलाई जानकारी गराइसकेको जनाउँदै दोषीलाई पक्राउ गरेर कानुनी कारवाहीको दायरामा ल्याउन माग गरे ।
यता प्रहरीले भने घटना सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रमुख प्रहरी निरिक्षक विजय कार्कीले घटनाको जानकारी पाए लगतै प्रहरी घटनास्थलमा पुगेको र आगो लगाउने व्यक्ति तथा आगजनीको कारण बारे प्रहरीले गम्भिर अनुसन्धान गरिरहेको जानकारी दिए ।
वि.सं.२०८० मंसिर २४ आइतवार २२:०७

















