बारागढी गाउँपालिका वडा नं. ६ का अध्यक्ष साहको निधन, गाउँपालिकामा आज शोक विदा
राष्ट्रिय झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार ११:०४

बारा-बारागढी गाउँपालिका वडा नं. ६ गढहलका वडा अध्यक्ष तथा गाउँपालिका कार्यपालिका सदस्य निरज कुमार साहको उपचारको क्रममा असामयिक निधन भएको छ ।
परिवारका अनुसार साहको २०८२ साल कात्तिक १२ गते राति ९ः४५ बजे उपचारकै क्रममा निधन भएको हो ।
वडा अध्यक्ष साहको असामयिक निधनले गाउँपालिका शोकाकुल भएको छ । गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले एक विज्ञप्ति जारी गर्दै स्व. साहप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै उहाँको अन्त्येष्टि कार्यक्रममा गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई सहभागिता जनाउन आग्रह गरिएको छ ।

गाउँपालिकाले कात्तिक १४ गते शोक विदाको घोषणा गरेको छ । सोही दिन गाउँकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय र गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी निकायहरु बन्द रहनेछन् । साथै, स्व. साहको सम्झनामा राष्ट्रिय झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरिएको छ ।
सम्पूर्ण बारागढी गाउँवासी र जनप्रतिनिधिहरूले उहाँको योगदानको स्मरण गर्दै गहिरो शोक प्रकट गरेका छन् ।
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार ११:०४

















