लघुकथा : उद्धार
वि.सं.२०८० असोज २० शनिवार १५:१३

भारतको दार्जिलिङस्थित सेन्ट थोमस आवासीय विद्यालयको कक्षा सातमा अध्ययनरत् छात्रा छितेनको आप्पाआमा सिक्किमको रम्फु बजारका प्रतिष्ठित होटल व्यवसायी थिए ।
छितेन पनि अरू सरह दशैंमा घर गएर साथीभाइ भेट्ने, घुमघाम गर्ने भनी हौसिएकी थिई ।
तर बुधवार अचानक परेको मुसलधारे पानीको कारण टिस्टा नदीमा ठूलो बाढी आएको र हेर्दाहेर्दै टिस्टा, रम्फु बजार वरपरका कतिपय घर, बाटो पुल, सडकमा रोकी राखेको गाडी सबै बगाएको दु:खद खबरले दिनभर चर्चा पायो ।
यो समाचार सुन्ने जो कोही मर्माहत नहुने कुरै थिएन । रम्फु घर भएकी छितेन समाचार सुनेर मुर्छा परी । उसलाई अस्पताल भर्ना गर्ने सम्मको अवस्था आइलाग्यो । दुईदिन अस्पताल बसेर फर्केकी छितेन दिनभर होस्टेल मै बसी पढन गईन ।
अपरान्ह स्कुल बिदा भएपछि छितेनकी असाध्यै मिल्ने सहपाठी सुषमा जो घरैबाट पढन आउने गर्दथी उ छितेनलाई भेटन आई ।
‘छितेन, क्लासमा किन नआएको ?’ उसले सोधी ।
‘मुड छैन सुषमा । म ममीबुवाको खबर सुन्न ज्यादै व्याकुल छु । थुप्रै घर बगायो अरे । हाम्रो घरपनि रम्फु बजार मै छ । ‘छितेन भक्कानिई ।
‘डोन्ट वरी, तैले सोचे जस्तो त्यस्तो केही भएको छैन । गड् माथि विश्वास राख् । भोलिबाट क्लास आइज । नरो ।’ सुषमाले छितेनको रसाएको आँखा पुछीदिँदै भनी ‘अहिले म जान्छु । टेक केयर ।’
साँझ खाना खान बसेपछि सुषमाले ममीबुवालाई छितेनको अवस्थाबारे जानकारी गराई । सुषमाको ममीबुबा पनि सुनेर दु:खीत भए ।
नवमीको पहिलो दिनदेखि स्कुल बिदा भयो । सबैका अभिभावकहरू आआफ्ना छोराछोरी लिन आए । तर, छितेनलाई लिन उसको अभिभावक न आए न कुनै फोन खबर नै गरे ।
साँझसम्म होस्टेलका सबै साथीहरू घर गईसक्दा पनि उसलाई लिन कोही पनि नआएको देखेर विद्यालय प्रशासन पनि अप्ठ्यारोमा पर्यो ।
छितेनलाई अब कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल चलिरहेकै बेला सुषमा र उसको ममीबुवा स्कूल पुगे ।
०००
-हेटौडा, मकवानपुर
वि.सं.२०८० असोज २० शनिवार १५:१३

















