‘रेड कर्नर नोटिस’ जारी नभएपछि सन्दीपविरुद्ध इन्टरपोल शाखाले जारी गर्यो डिफ्युजन नोटिस
वि.सं.२०७९ असोज १० सोमवार २०:१३

काठमाडौं-राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीको इन्टरपोल शाखाले डिफ्युजन नोटिस जारी गरेको छ ।
डिफ्युजन नोटिस जारी गरेर अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरिएको प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले बताए ।
डिफ्युजन नोटिस इन्टरपोलमा आबद्ध १३५ मुलुकका इन्टरपोल शाखाले जारी गर्न सक्छ । सो नोटिस अनौपचारिक प्रकृतिको हुन्छ । ‘रेड कर्नर नोटिस’ इन्टरपोल हेडक्वार्टरले नै जारी गर्नुपर्छ । सन्दीपविरुद्धको लागेको बलात्कारको आरोप पुष्टि नभएको हुनाले उनीविरुद्ध रेड कर्नर नोटिस जारी भएन ।
डिफ्युजन जारी गरेर नेपाल प्रहरीले विश्वभरका १ सय ३५ मुलुकमा इन्टरपोल शाखालाई सन्दीपको खोजी गरिदिन आग्रह गरेको छ । ती मुलुकले आफ्नो देशमा आरोपी भेटेमा नेपाल पठाउन सहजीकरण गर्नेछन् । क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागि जमैकामा रहेका लामिछाने आफूविरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएपछि बेपत्ता छन् ।
भदौ २३ मा उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानबाट निलम्बन गरेको थियो । क्रिकेट संघले निलम्बन गरेपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको भन्दै कानुन लडाइँ लड्ने बताएका थिए ।
वि.सं.२०७९ असोज १० सोमवार २०:१३

















