स्यानिटरी प्याडमा खर्च मात्रै, किनेर थन्काइयो
वि.सं.२०७९ भदौ १ बुधवार २१:०६

खोटाङ-खोटाङको जन्तेढुंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा आठ लाखभन्दा बढीको स्यानीटरी प्याड खरिद गरेको तर लक्षित वर्गलाई वितरण नगरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा गाउँपालिकाले स्यानिटरी प्याडमा लाखौं बजेट खर्च गरेर लक्षित वर्गलाई वितरण गर्नुको सट्टा स्टोरमा थन्काएको औंल्याइएको छ ।
सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क वितरण गर्ने भन्दै हिमालयन मेडिसिन डिस्ट्रीव्यूटर्स ललितपुरबाट ८ लाख ३६ हजार २०० मा १० हजार थान स्यानीटरी प्याड खरिद गरिए पनि स्टोरमै थन्काएर राखेको पाइएको हो । एकातिर तोकिएको समयमा प्राप्त हुनुपर्ने सेवाबाट लक्षित वर्ग बञ्चित भएको अर्कातर्फ अव्यवस्थित तरिकाले भण्डारण गरेका कारण स्यानिटरी प्याड बिग्रिएर प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्ने सम्भावना देखिएको प्रतिबेदनमा उल्लेख छ । ‘स्यानीटरी प्याड समयमा नै खरिद नगरी ढिला खरिद गरेका कारण लक्षित वर्ग सेवाबाट बञ्चित भइ कार्यक्रम नै प्रभावहिन देखियो,’ प्रतिबेदनमा भनिएको छ, ‘कार्यालयले कार्यक्रम ढिला हुनुको कारण स्पष्ट पार्दै किशोरीलाई वितरण गरेको भरपाइ पेश गर्नुपर्छ ।’
वि.सं.२०७९ भदौ १ बुधवार २१:०६

















