skip this

सर्लाहीको बागमती नगर प्रमुख भरतकुमार थापा भ्रष्टाचार मुद्दामा दोषी

2.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-सर्लाहीको बागमती नगरपालिका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई समेत दोषी ठहर गरेको हो।

अदालतका अनुसार बागमती नगरपालिकामा मूल्य अभिवृद्धि करसहित ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थको हानि–नोक्सानी भएको प्रमाणित भएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गत दोषी ठहर गरिएका उनीहरूलाई सजाय निर्धारणका लागि साउन २९ गते पेशी तोकिएको छ। त्यस्तै, प्रतिवादी लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई भने आरोप प्रमाणित नभएको भन्दै सफाइ दिइएको छ।

थापालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा पनि दोषी ठहर गर्दै अदालतले उनले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरेको ठहर गरेको छ। फैसलाअनुसार थापालाई एक वर्ष कैद सजाय र त्यति नै बराबरको जरिवाना हुने भएको छ।

साथै, गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति र त्यसबाट बढाइएको सम्पत्ति जफत गर्ने आदेश पनि अदालतले दिएको छ।

nijgadh-supermart-adz1200-630