विशेष अदालतको अध्यक्षमा पौडेल नियुक्त
वि.सं.२०७८ फागुन १८ बुधवार १७:१२

काठमाडौँ । विशेष अदालत काठमाडौँको अध्यक्षमा श्रीकान्त पौडेल नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यायपरिषदको सिफारिसका आधारमा विशेष अदालतको अध्यक्षमा पौडेलसहित अरु न्यायाधीश नियुक्त गरेको हो।
गत बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको बैठकले विशेषको अध्यक्षमा पौडेलसहित अरु पाँच जना न्यायाधीश सदस्यका रुपमा सिफारिस गर्ने निर्णय गरेको थियो। पौडेल उच्च अदालत पाटनमा दरबन्दी भइ हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा कार्यरत थिए।
त्यसैगरी विशेषको सदस्यमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुसी प्रसाद थारु नियुक्त भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सरकारले राजश्व न्यायाधीकरणको अध्यक्षमा टेकप्रसाद ढुंगानालाई नियुक्त गरेको छ। विशेष अदालतमा गत साउनदेखि दुई जना मात्रै न्यायाधीश थिए। साउन १ गते विशेष अदालतका अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएको थियो।
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको भोलिपल्ट उनीहरुको सरुवा भएको हो।
वि.सं.२०७८ फागुन १८ बुधवार १७:१२

















