ऐन, कानुनमा महिला विभेदमा रहेकाले त्यसको संशोधनमा सबैले जोड दिनुपर्छ –उर्मिला अर्याल
वि.सं.२०७९ फागुन २३ मंगलवार १६:४१

काठमाडौं । महिला र पुरुषको समविकास बिना देशको सर्वाङ्गीण विकास हुननसक्ने राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले बताएकी छन् । राष्ट्रिय महिला आयोगको २१औँ स्थापना दिवस तथा ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाका लागि नीतिगत वकालतमा आयोगले काम गर्नुपर्नेमा जोड दिएकी छन् ।
“सबै तहमा महिलाको कम्तीमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्छ, स्थानीय तहमा महिला उपप्रमुख वा उपाध्यक्षमात्र नभई प्रमुख वा अध्यक्ष नै बनेर काम गर्ने वातावरण बनाउनुपर्छ, परिवर्तनमा महिलाको धेरै भूमिका भएकाले पनि राजनीतिमा महिलाको प्रतिनिधित्व बढाउन काम हुनुपर्छ, राजनीतिक दलको निर्णायक तहमा अझै महिलाको सहभागिता हुनसकेको छैन, यसतर्फ पनि हाम्रो ध्यान जानुपर्छ”–उनले भनिन् ।
ऐन, कानुनमा महिला विभेदमा रहेकाले त्यसको संशोधनमा सबैले जोड दिनुपर्ने उपाध्यक्ष अर्यालको भनाइ थियो । समानुपातिक निर्वाचन पद्दतिले मात्र महिलाको ३४ प्रतिशत प्रतिनिधित्व पुगेकाले प्रत्यक्षमै चुनाव लडाउन पनि महिला जागरण गरिनुपर्नेमा उनको जोड थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा अमात्य श्रेष्ठले आर्थिक अनुशासन कायम गराउन महिलाको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । । महिलाले तीजलगायत चाडवाडमा धेरै माग नगर्ने संस्कारको विकास गरे भ्रष्टाचार नबढ्ने उनको भनाइ थियो ।
वि.सं.२०७९ फागुन २३ मंगलवार १६:४१
















