मधेस र सुदूरपश्चिम प्रदेशमा आज सभामुख निर्वाचन
वि.सं.२०७९ माघ ३ मंगलवार ०९:४१

काठमाडौं । मधेस प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ । नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत बुधबार मुख्यमन्त्री नियुक्त हुनुभएका यादवले शुक्रबार (पुस २९ गते) पद तथा गोपनीयताको शपथ लिनुभएको थियो भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल राय प्रतिस्पर्धामा छन् ।
एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ । प्रदेशसभामा रहेका १० राजनीतिक दलमध्ये नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टी (एक–एक) सहित दुई स्वतन्त्र गरी ६३ जनाको समर्थन छ । यादवलाई नौ जना प्रदेशसभा सदस्य रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि समर्थन गर्ने तयारी गरेकाले त्यो सङ्ख्या बढेर ७२ पुग्ने जसपाको दाबी छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मंगलबार चौथो पटक चुनाव हुँदैछ । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको छैन ।गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक–एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।
३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभा आज फेरि निर्वाचन हुनेछ ।नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी छन् । सोमबार धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएकी हुन् ।
वि.सं.२०७९ माघ ३ मंगलवार ०९:४१















