सूर्य नेपाल प्रा.लि.द्वारा औराहा स्कुललाई २ थान स्मार्ट बोर्ड हस्तान्तरण
दातालाई सम्मान तथा धन्यवाद कार्यक्रम सम्पन्न
वि.सं.२०८२ जेठ २६ सोमवार १६:५३

बारा-जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ स्थित औराहा माध्यमिक विद्यालयमा सूर्य नेपाल प्रा.लि.को सहयोगमा २ थान स्मार्ट बोर्ड हस्तान्तरण तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम वडा सदस्य उर्मिला भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा लामिछानेको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो ।
सूर्य नेपालका प्रतिनिधिहरू यज्ञ बहादुर आले र आशिष अधिकारीको उपस्थितिमा विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा व्यवस्थापन समितिका सदस्य अतिम उल्लाह, प्रधानाध्यापक लालबाबु प्रसाद साह, सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको विद्यालयका सूचना अधिकारी धनप्रसाद बजगाईले जानकारी दिए ।
कार्यक्रममा विद्यालयतर्फबाट सूर्य नेपाललाई शिक्षाको प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान तथा धन्यवाद अर्पण गरिएको थियो ।
स्मार्ट बोर्डको प्रयोगले विद्यालयमा प्रविधिमैत्री सिकाइ प्रक्रियालाई टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
उक्त कार्यक्रमले निजी क्षेत्र र शैक्षिक संस्थाबीचको सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
वि.सं.२०८२ जेठ २६ सोमवार १६:५३
















