skip this bagdve 29 th

तराई यातायात व्यवसायी संघको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, कसले के भने ?

क–कसले पाए सम्मान ?

708 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–तराई यातायात व्यवसायी संघको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बाराको सिमरास्थित क्लासिक होटलमा साधारण सभाको गृहमन्त्री रमेश लेखकले पानसमा बत्ति बालेर उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन् । उद्योग, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसँग जोडिएको बताउँदै यातायात व्यवसायीको भूमिका अतुलनीय रहेको बताएका हुन् ।

उनले सरकार निजि क्षेत्रसँग मिलेर देशको अर्थतन्त्र मजबुद बनाउँदै समृद्धिको यात्रामा सँगसँगै अगाडी जान चाहेको बताए । उनले सरकारले अध्यादेशमार्फत निजी क्षेत्रको व्यवसायिक वातावरणलाई राम्रो बनाउने उद्देश्य रहेको बताए ।

सवारी दुर्घटना न्यूनिकरण हुन नसकेको भन्दै सरकारसँगै यातायात व्यवसायि गम्भिर भईदिन आग्रह गरे ।

त्यस्तै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले सरकारलाई अप्ठेरो परेको बेलामा ट्रक व्यवसायिले सेवा गरेको स्मरण गराउँदै दुर्घटनामा हुने मृत्युमा गरिने वीमा भुक्तानीको व्यवस्थालाई संसोधन गर्न आवश्यक रहेको औल्याएका छन् ।

त्यस्तै पूर्वमन्त्री एवं बारा क्षेत्र नं. ४ का संघीय सांसद कृष्णकुमार श्रेष्ठ किसानले पछिल्लो समय यातायात व्यवसायीहरू गम्भीर समस्यामा रहेको उल्लेख गर्दै सरकार समस्याप्रति संवेदनशील नभएको आरोप लगाए ।

त्यस्तै बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले यातायात क्षेत्रले प्रत्यक्ष रुपमा रोजगार सिर्जना गरेको बताए । उनले निजि क्षेत्र शंसय र आशंकाको विचमा व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्थामा रहेको बताए ।

त्यस्तै पूर्वमन्त्री फर्मुला मन्सुरले जनताले राज्यबाट पाउने सेवाहरु सुलभ न्यायोचित छ कि छैन भनेर ध्यान दिनुपर्ने बताएका छन् । उनले सरकारी कार्यालयमा सेवा लिन जाँदा नेता र विचौलिया खोज्नुपर्ने अवस्था रहेको टिप्पणी गरे ।

त्यस्तै मधेस प्रदेशका अर्थमन्त्री सुनिल यादवले ट्रक व्यवसायिलाई प्रहरीले चेकिङ्गका नाममा दुख दिन नहुने बताएका छन् । उनले प्रविधिको प्रयोगमा जोड दिदै त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाली कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता का सभापति कृष्ण यादवले भारतबाट नेपालमा मालबाहक र पर्यटन सवारी साधनलाई सुरक्षाकर्मीले दुख दिने गरेको आरोप लगाए । उनले पर्यटन विकासका लागि यसले असर गरेको भन्दै सुर्धानु पर्ने धारणा राखे ।

त्यस्तै नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले यातायात व्यवसायिको समस्या देशकै समस्याका रुपमा बुझ्नु पर्ने भन्दै सरकारले यातायात व्यवसायिलाई विर्सेको बताए ।

कार्यक्रममा यातायात व्यवसायी जगन्नाथ प्रसाद कलवारले यातायात व्यवसायि पीडामा रहेको भन्दै राज्य र वित्तिय संस्था बेखबर हुने गरेको बताए । आयकरसँगै नाफानै नभएपनि आम्दानीको कर तिर्नुपर्ने अवस्था रहेको बताए ।

तराई यातायात व्यवसायि संघका सल्लाहकार शम्भुबहादुर बुढाथोकीले सवारी साधनलाई अनावश्यक रुपमा प्रहरी चेकिङ्गका कारण दुर्घटनामा हुने गरेको बताए ।

नेपाली काँग्रेसका नेता समेत रहेका बुढाथोकीले व्यवसायिको समस्याका विषयमा जिल्लाका सांसदले सदनमा कुरा नउठाएको भन्दै कार्यक्रममा मात्र बेकुब बनाउने काम गरेको टिप्पणी गरे ।

त्यस्तै जीतपुरसिमरा नगर उवासंघका अध्यक्ष मोहन शर्माले समग्र निजी क्षेत्र नै धारासायी बनेको भन्दै वीरगञ्ज नाकाबाट हुने आयात निराशाजनक भएको बताए ।

उनले पर्यटक बोकेको सवारी साधनलाई एक ठाउँमा चेकजाँच गरेपछि ठाउँठाउमा चेकिङ्ग गर्नुपर्ने अवस्था हटाउने गरि योजना बनाउन आग्रह गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष ओमकृष्ण कार्कीले संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै यातायात क्षेत्रले भोग्दै आएका समस्या र समाधानका उपायबारेमा जानकारी गराएका थिए ।

संघको विगत तीन वर्षको कार्ययोजना, सेवा सुविधा र नीतिगत सुधारहरूबारे जानकारी दिए । उनले संघको विधान, आर्थिक तथा प्रशासनिक नियमावली, दुर्घटना निर्देशिका र प्रचलित कानुनको अधिनमा रही व्यवसायीको हकहितमा काम गर्दै आएको बताए ।

कार्यक्रममा पूर्वमन्त्री एवं बारा क्षेत्र नं. ३ की सांसद ज्वालाकुमारी साह, संविधान सभा सदस्य जयराम दाहाल, मधु शाही ठकुरी, प्रदेश सभा सदस्य देवनारायण चौधरी, जीतेन्द्र सोनल, मिना लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादव, बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादव, सचिव मनोज भट्ट, मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आर्चाय, शसस्त्र प्रहरी बलका मधेस प्रमुख शसस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजु, पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र खतिवडा लगायत सहभागि थिए ।

साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारीदेखि तराई यातायात पत्रकारिता पुरस्कार वितरण गरिएको थियो । गृह मन्त्री लेखकले संघका वरिष्ट चालक राधाकृष्ण भण्डारी, संघको नारायणगढ शाखा प्रमुख विमल आर्चाय र पत्रकार उपेन्द्र ठाकुरलाई जनही पाँच÷पाँच हजार नगदसहित सम्मानपत्रले सम्मानित गरेका थिए ।

संघका अध्यक्ष ओमकृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तराई यातायात व्यवसायी संघका वरिष्ट उपाध्यक्ष सुहेल अख्तर अन्सारी र सञ्चालन सञ्चारकर्मी सुनिल गाउलेले गरेका थिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष, विभिन्न यातायात संघ–संस्थाका प्रतिनिधि, सल्लाहकार, व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

nijgadh-supermart-adz1200-630