skip this

खेल क्षेत्रमा लगानी वृद्धि गर्न सरकार प्रयत्नशील रहनेछ –प्रधानमन्त्री दाहाल

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं,। खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । उनले खेलकुद अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको स्पष्ट पारेका छन् ।

काठमाडौँको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स सङ्घको आयोजनामा आयोजित १६औँ एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा प्रधानमन्त्रीले भने, “आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ ।”

उहाँले खेलको महत्वलाई ठीक ढङ्गले बुझ्न सक्नेले मात्रै राष्ट्रको सही नेतृत्व गर्न सक्ने तथा जनआकाङ्क्षा सम्बोधन गर्न सक्ने उल्लेख गरेका छन् । खेलक्षेत्र विविधतामा एकता, सुशासन, दिगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकामा हामी सबैले गौरव गर्नैपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्रीले अगाडि भने, “खेल कूटनीतिमार्फत ठूला–ठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूल्ठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनःमिलनका आधार खडा भएको छ ।” उहाँले खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको समेत स्पष्ट पारेका छन् ।कुनै समय खेलकुदलाई शारीरिक र मानसिक स्फूर्तिको माध्यमका रूपमा मात्र लिइने गरेको भए पनि अहिले समय फेरिएको भन्दै प्रधानमन्त्री दाहालले आजको युगमा खेलकुद राष्ट्रको गौरव बढाउने माध्यमका रूपमा समेत विकास भएको बताएका छन् ।

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधारका रूपमा चित्रण गर्दै प्रधानमन्त्रीले सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न तथा अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले भने, “खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ । साथै एथलेटिक्सको विकासका निम्तिसमेत राज्यले उचित ध्यान दिनेछ ।”

nijgadh-supermart-adz1200-630