नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्दै

249 shares

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो । अहिले काठमाडौँको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन् । ठमेल क्षेत्रका सडकमा व्यवसायी देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोला पर्यटन आवागमनसँगै नेपालको पर्यटन उद्योगमा केही आशा पलाएको बताएका छन् । “लामो समय कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक आएसँगै खुसी छाएको छ”, उनले भने।ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा अहिले ठमेलमा विदेशी पर्यटक बढ्न थालेको बताएका छन् । “ठमेलका भित्री गल्लीमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ”, । ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को फ्रेबुअरीमा हवाईमार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरीमा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्ष सन् २०२२ को फ्रेबुअरीमा १९ हजार सात सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पछिल्लो तथ्याङ्कले महामारीपछि फ्रेबुअरीमा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा दुई लाख ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।