त्यो दशैं : दशैंको नयाँ कपडा स्कुलको ड्रेस : दुर्गाप्रसाद गौतम
वि.सं.२०७९ असोज १७ सोमवार १५:१३

बाराको निजगढ ५ बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्, दुर्गाप्रसाद गौतम । विद्यार्थी राजनीतिबाट नेकपा (एमाले) को राजनीति गर्दै आएका गौतम पार्टीका जिल्ला सदस्य तथा विद्यार्थी फ्याक्सन इन्चार्ज हुन् । उनै गौतम अहिले विद्यालय व्यवस्थापनको नेतृत्व गर्दैै आएका छन् । विद्यालयलाई हालै कम्प्यूटर इन्जिनियर डिप्लोमा कोर्षको अनुमति पाएपछि त्यसलाई कार्यान्वय गराउन सक्रिय रहेका गौतमको दशैं अनुभुति यहाँ प्रस्तुत गर्दैछौं ।
दशैं हाम्रो लागि महत्वपूर्ण चाड हो । सानैदेखि यसको महत्वबारे पढ्दै बुझ्दै आयौं । जसरी बुझियो त्यसैगरि यसलाई अपनाउँदै आएका छौं । हाम्रो परिवार म ३ वर्षको छदाँ काभ्रेबाट निजगढ झरेको थियो । हामीलाई पढ्न सुविधा होस् भनेर यहाँ आएको हाम्रो परिवार आर्थिक रुपमा सामान्य थियो । त्यसैगरि दशैं पर्व मनाउने तरिका पनि सामान्य नै हुने भयो ।
पढाई र पढाईपछिको घरायसी कामको जिम्मेवारी थियो हामीलाई । दशैं भन्ने वित्तिकै रमाईलो गर्ने, घुम्ने, खर्च गर्ने भन्ने बुझाई हुन सक्छ तर हाम्रो लागि त्यस्तो अवस्था आएन् । स्कुल विदा भएपनि घर, खेतको काममा सघाउनु र होमवर्क गर्नु हाम्रो दायित्व थियो ।
समय निकालेर पिङ खेल्नु बाहेक तास, लंगरबुर्जा तिर ध्यान गएन् । हामीलाई हाम्रा अग्रजहरुले त्यो गलत व्यवहार नगर्न सधैं प्रेरित गरिरहनु भयो । बरु त्यसको अलवा असल व्यवहार र संगतका लागि सुझाएकै कारण हामी त्यो बाटोमा लागेनौं ।
दशैं र नयाँ कपडा एक अर्काका पर्याय थिए । दशैं लाग्नु एक साता अघि नै हाम्रो नापो लिन घरमै टेलर्सबाट आउँथे । नयाँ कपडा सिलाउने नापो लिएसंगै मनमा दशैंको उमंग पैदा हुन्थ्यो । नयाँ लुगा लगाउने अवसर पनि थियो दशैं । परिवारको आर्थिक अवस्थाकै कारण दशैंका नयाँ कपडा नै हाम्रो स्कुलको ड्रेस हुन्थो । स्कुलको ड्रेस हुने गरि हाम्रो लागि दशैंको नयाँ कपडा सिलाईएको हुन्थ्यो । हामीले त्यो बेला कहिल्यै रेडिमेट कपडा लगाएको थिएनौं ।
वि.सं.२०७९ असोज १७ सोमवार १५:१३


















