skip this farak Kura Pravakar

त्याे दशैं : पिरै पिरको दशैभन्दा त त्यो बाल्यकालको दशै कयौं गुणा बेश

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

खरले छाएको झुप्रो घरको एक पालिक मुनीको बलोमा नाम्लोको पिङ्ग हालेर मच्चिनुको मज्जा “म” आधुनिक युगको लिङ्गे र रोटे पिङ्गमा पाउन सक्दिन ।

दशै आएपछि घरमै कुखुरा काटेर मासुमा झोल हालेर खाएको स्वाद “म” अहिलेको दैनिक सहज हुने ‘मटन’ मा पाउँन सक्दिन । गाउँ घरमा कोहिलीको कुहु-कुहुमा रमाउने यो मन अहिले डिजे साउन्डको मस्तीमा बानी परेको छ ।

दशै आएपछि उतिबेला छुट्टै रौनक हुन्थ्यो गाउँ घरमा । दिदि काठमाडौंमा बस्थिन । लाग्थ्यो दशैमा दिदि घर आउदा कस्तो लुगा ल्याइदिनु हुन्छिन भनेर ! दिदि आउने दिन गन्दाको मज्जा नै बेग्लै हुन्थ्यो ।

बाबा मम्मीको आँखा छलेर गाउँभरीका साथीहरु भेला भई घर पछाडि लगाएको पिङ्ग खेल्दा रात परेको पत्तो नै हुँदैन थियो । उता पल्लो घरमा खसी काटेर रक्ति खान बोलाउँद खुसीले मनै प्रफुल्ल हुन्थ्यो ।

दशै आएसँगै गाउँ र घर वरपरको सरसफाई बाटो घाटो मर्मत गर्ने रातो र सेतो कमेरोले घर लिप्ने-पोत्ने जस्ता काम हुने हुँदा यस समयमा सबै जना ब्यस्त पनि हुन्थ्यौं ।

दशैका बेला छर छिमेकमा प्रतिस्पर्धा नै चल्थ्यो कस्को घर राम्रो र सुन्दर बन्ने भनेर । दिनभर लागेर शक्तीखोलाको शिरमा पुग्ने गर्द थियो भोक, तिर्ख थकाई केही नभनी कमेरो लिन जान्थे । त्यहाँबाट विभिन्न थरीका रङ्ग कमेरो अर्थात सात, आठ थरी भन्द धेरै रङ्गिन कमेरो ल्याउथे र घर रङ्गाउने गर्थे ।

साँझमा गाउँ घर डुल्ने त म मात्रै  हुँ दिन थे । साँझ परेपछि पानी लिन जाँदा गल्लीमा रहेको रुखको हाँगामा डोरीले बाधेर हालेको पिङ्गमा घण्टौ हराएका क्षणहरु स्मृृतिको मानसपटलमा अहिलेपनि ताजै छन् ।

अझ विजया दशमीको दिन आफन्तको घरघर र घरमा टीका थाप्न जादाँ काटेको एक एक टुक्रा केरा र मेवा खादै घर आएर पैसा गन्दाको मञ्जा र त्यो आनन्द अहिले वार्षिक ‘कमाई’ बाट “म” कदापी पाउन सकिँदैन । त्यो बेला टीका थापेर लिने आशिर्वादको खासै महत्त्व थाहा थिएन । आर्शिवादभन्दा पनि नयाँ लुगा, र टीका लगाएपछि पाउने दक्षिणा अनी विद्यालयले दिने छुट्टी बढी प्राथमिकतामा पर्थे ।

टीका लगाएर सबैले दक्षिणा दिन्छन् मामा घरमा माईजुले बनाइको मासुको सुकुटी मिठो हुन्छ भनेर रमाउँदै थकानको महशुस सम्म नगरि घण्टौं हिडेर मामाघर जान्थे । चाहे आफ्नो घर या मामाघर सानालाई दिने दक्षिणा सबैको भन्दा कम नै हुन्थ्यो । अरु आर्शिवादको लागि जाने गर्थे तर आफु सानै भएरपनि होला बढी दक्षिणाकै चासो र चिन्ता हुन्थ्यो । त्यति हुँदाहुँदै पनि सबैभन्दा थोरै दक्षिणा पाउदाँ मन सारै भारी भएर आउथ्यो । अनी लाग्थ्यो कहिले ठूलो भएर धेरै दक्षिणा लिने होला ।

आहा ! त्यो बाल्यकालका बालापनको दशै, त्यो गाउँ घरको अर्गानिक दशै अनी त्यति नै रमाइलो दशै । हुन त आजकाल पनि दशै नआउने होइन तर आजकालको दशैमा म त्यो खुसी भेट्टाउन सक्दिन । अहिलेको दशै त्यो दशैभन्दा बिल्कुलै फरक दशै लाग्छ ।

समय उमेर साथीहरु उही रहेनन् र यी सँगै आफ्ना खुसीहरु पनि उही रहन सकेनन् । सायद यो परिवर्तन मेरो मात्रै अवश्य पनि होइन । पक्कै पनि यहाँहरुको दशैमा पनि केही न केही परिवर्तन आएको हुनुपर्छ । मेरो अनुभवमा यो अहिलेको आधुनिकताको दसैँ शहरीकरणको दशै, पहिलाको अर्गानिक गाउँको दशैभन्दा बिल्कुल फरक हो । अहिले यो आधुनिक दशैमा दशै आयो की सबैको मुहारले पीडाबोध भएको दर्शाउँछ । दशै आयो भन्नासाथ कामको चाप थप्ने काम गर्ने समय तालिका बनाउने विषय फलामको चिउरा चपाउनु जस्तो हुन्छ ।

यता हामीहरु जस्ता संचार क्षेत्रमा कार्यरत संचारकर्मीहरुलाई संचार गृहबाट छुट्टी पाइएला की नपाईएला भन्ने चिन्ता, काठमाडौबाट गाउँ फर्किनेहरु पनि टिकट पाउनै सास्ती पाएपनि सुरक्षित रुपमा घर पुगिएला की नपुगिएला भन्ने ठूलो चिन्ता ।

यो चिन्तै चिन्ताको दशैभन्दा त त्यो बालापनको निश्चिन्त दशै कयौं गुणा बेश । तर, के गर्नु बगेको खोला नफर्किए जस्तै गएको उमेर फर्कदैन । समयले जहाँ पुर्‍यायो त्यहाँ पुग्नुपर्ने बाध्यता त मेरो मात्र नभई सबैको उस्तै होला ! त्यसैले जहाँ जो जसरी रहेपनि त्यहि परिवेश अनुसार खुसीका साथ दशै मनाउनुस सबैलाई शुभकामना !

-घलान मधेश प्रवाह साप्ताहिकको प्रकाशक हुन् ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630