एमालेबाट निर्वाचित कलैयाका वडाअध्यक्ष जयसवाल बैंकिङ्ग कसुर मुद्दामा पक्राउ
वि.सं.२०७८ चैत १२ शनिवार ०९:१४

बारा । बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ ।
तीन वटा छुट्टा छुट्टै बैंकिङ्ग कसुर मुद्दामा ३८ लाख ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष जयसवाललाई कलैया बजारबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी बाराका सूचना अधिकारी राजेश थापाले जानकारी दिए ।
ओम पाण्डेयको ८ लाख, बालुवा गिटीको १० लाख र सभामुख सरोज यादवसंग लिएको बजेट पेश्कीको रकम खर्च नगरेको लगायतका मुद्दामा जयसवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
जयसवाल २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए । हाल उनी बारा निर्माण व्यवसायी संघको अध्यक्ष समेत रहेका छन् ।
वि.सं.२०७८ चैत १२ शनिवार ०९:१४
















