skip this

देशभर सवारी साधनको कर समान गर्ने सहमति

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । सबै प्रदेशमा सवारी साधनको कर समान गर्ने विषयमा प्रदेश सरकारहरूबीच सहमति भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरुको बैठकमा सो सहमति भएको हो ।

२० बुँदे पोखरा घोषणा पत्र जारी गर्दै बैठकले प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउने गरी सबै प्रदेशमा एकै खालको सवारी कर, दस्तुर र जरिवानाको व्यवस्था गर्न संघीय सरकारलाई आवश्यक कानुनको व्यवस्था गर्न माग गर्ने निर्णय गरिएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले जानकारी दिए ।

एक प्रदेशमा दर्ता भइ अर्को प्रदेशमा संचालनमा रहेका गाडीको नवीकरण चलिरहेको प्रदेशबाटै गर्ने व्यवस्था गर्न संघीय सरकारलाई आग्रह गरिएको पनि उनले बताए ।

त्यसैगरी सवारी सम्बन्धी कर र जरिवाना प्रदेशको एकल अधिकारभित्र पर्ने भएकोले सबै रकम र इम्बोस्ड नम्बर जडानको रकम समेत प्रदेश राजश्व खातामा जम्मा गर्न माग गरिएको पनि मन्त्री खड्काले बताए ।

अहिलेसम्मका सबै डाटा र प्रणालीहरू संघले प्रदेशलाई हस्तान्तरण गर्ने र त्यसको सुरक्षा प्रणाली मजबुत गर्ने, लाइसेन्स र सवारी दर्ता प्रणालीमा देखिएका सबै समस्या समाधानको लागि आवश्यक नीति तथा कानुन परिमार्जन गर्ने, विभागले स्मार्ट लाइसेन्स छिटो प्रिन्ट गरेर तत्काल सम्बन्धित कार्यालयमा पठाउनुपर्ने, विभागले प्रदेशका कार्यालयहरुलाई सहयोग गर्न जिम्मेवारी सहितको फोकल पर्सन तोक्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।

सवारी चालक अनुमतिपत्रको परीक्षा संचालन कार्यविधि सबैले लागू गर्ने, अन्तर प्रदेश सवारी रुट अनुमति जाँचपासको काम गर्न यथाशीघ्र कार्यालय स्थापना गर्ने, शहर सौन्दर्यीकरण, दुर्घटना न्यूनिकरण कार्यक्रम अन्तरगत पालिका मार्फत अनिवार्य पार्कीङ्गको व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

सडक ऐन २०३१ (संसोधन २०७५) मा प्रादेशिक सडकको वर्गिकरण गर्न पहल गरी प्रादेशिक सडकहरुमा पहुँचको आधारमा बजेट बिनियोजन नगर्ने व्यवस्था सडक विभागले मिलाउने र सशर्तका योजनाहरुमा श्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा पहल गर्नु पर्ने, स्थानीय पूर्वाधार विभागबाट झोलुङ्गे पुलमा प्रयोग हुने लठ्ठा खरिद र वितरण प्रणाली चुस्त बनाउनु पर्ने माग सातै प्रदेशका मन्त्री र सचिवहरूको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले संघीयताको मर्म अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा देशभर ५ लाख ७२ हजारलाई स्मार्ट लाइसेन्स दिन बाँकी रहेको उल्लेख गर्दै उक्त लाइसेन्स असारसम्म दिइसक्ने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

nijgadh-supermart-adz1200-630