भोट माग्दा गरेका वाचाहरूको हेक्का छ –गृहमन्त्री लामिछाने
वि.सं.२०७९ माघ ७ शनिवार १०:३५

काठमाडौं । विभिन्न अपराधका दोषी एवं अभियुक्तलाई कारबाही तथा पक्राउ गर्न आफू कटिबद्ध रहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन ।
हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन दिएको भोलिपल्ट गृहमन्त्री लामिछानेले पुराना ‘फरार’ समातिने मात्र होइन, नयाँ अभियुक्त फरार हुन नसकुन् भन्नेमा आफू सजग रहेको प्रतिक्रिया दिएका हुन्। हिजो आफूले बोलेका हरेक शब्द तथा वाचाको हेक्का रहेको उल्लेख गर्दै आफू जनताको जीवन बदल्ने प्रयत्नमा रहेको दाबी पनि गरेका छन्।
गृहमन्त्री लामिछनेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुराना ‘फरार’हरू समातिन्छन् मात्र होइन, धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।’‘हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ’, उनले भनेका छन्, ‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुचाहिँ पर्छ।’
वि.सं.२०७९ माघ ७ शनिवार १०:३५
















