आज उपसभामुखका लागि निर्वाचन हुँदै, राना मगर र यादवबीच कडा प्रतिस्पर्धा
वि.सं.२०७९ माघ ७ शनिवार ११:०१

काठमाडौं। आज उपसभामुखका लागि निर्वाचन हुँदै छ । उपसभामुखका लागि सत्तारुढ र विपक्षी गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार बनाएको छ। सत्तारुढ दलबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उम्मेदवार छन्।उपसभामुखको निर्वाचनका लागि आज मध्याह्न १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले राना मगरलाई उपसभामुखको उम्मेदवार प्रस्ताव गरेकी छन्। त्यसमा नेकपा (एमाल) का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले समर्थन जनाएका छन्।
त्यस्तै, विपक्षी दलका तर्फबाट नेपाली कांग्रसकी सांसद मुक्ताकुमारी यादव उम्मेदवार बनेकी छन्। कांग्रेस सांसद बद्री पाण्डेले यादवलाई उपसभामुखको उम्मेदवार प्रस्ताव गरेका छन्। यसमा नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले समर्थन जनाएका छन्।
वि.सं.२०७९ माघ ७ शनिवार ११:०१
















