अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न हरित ऊर्जा आवश्यक –प्रधानमन्त्री दाहाल
वि.सं.२०८० वैशाख ५ मंगलवार १३:३६

काठमाडौं। ऊर्जा क्षेत्रमा थप लगानी बिस्तार गर्न आवश्यक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आजबाट शुरु भएको आठौँ ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
। उनले सरकारले नीतिगत र व्यावहारिक रूपमा नै ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेकाले ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताए । प्रधानमन्त्री प्रचण्डले धेरै विद्युत् खपत गर्न सक्ने क्षेत्रको प्रवर्द्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै व्यापार घाटालाई कम गर्न बिजुलीको उपभोग बढाउन जरुरी रहेको बताएका छन् ।
देशलाई आर्थिक रूपमा बलियो बनाएर अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जाको आवश्यकता महत्त्वपूर्ण भएको प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन् । धेरै नेपालीहरूले अझै पनि हरित ऊर्जामा पहुँच पुग्न नसकेको उल्लेख गर्दै देशका सबै जनतालाई बिजुली उपलब्ध गराउनका लागि ग्रिड बिस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी बिस्तारमा जोड दिइरहेको उनले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रसारण र वितरण लाइनहरू बिस्तार गर्न र स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकारले पहल गरिरहेको उल्लेख गरे । उनले स्वदेशमा उत्पादन हुने बिजुली आन्तरिक रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार निर्माण नगर्दासम्म यस क्षेत्रमा भइरहेको ठुलो लगानी जोगाउन पनि निर्यात गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।
वि.सं.२०८० वैशाख ५ मंगलवार १३:३६
















