‘नगरकी छोरी’ कार्यक्रम : छोरी जन्माउन गल्याङ नगरपालिकाको प्रोत्साहन, खातामै जम्मा हुन्छ ५ हजार
वि.सं.२०८० मंसिर २५ सोमवार १०:०१

पोखरा-गल्याङ नगरपालिकाले नगरभित्र जन्मिएका छोरीलाई ५ हजार दिने घोषणा गरेको छ ।
गल्याङले चालू वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत उक्त अभियान थालेको हो । ‘नगरकी छोरी’ कार्यक्रम अन्तर्गत हरेक महिलाले छोरी जन्माए छोरीको खातामा रकम जम्मा गरिने उपमेयर हेमा न्यौपानेले जानकारी दिइन् ।
चालू वर्षमा जन्मिएका सबै छोरीको बैङ्कमा खाता खोलिदिने र पैसा जम्मा हुने उनको भनाई छ । ‘छोरीको प्रोत्साहनका लागि कार्यक्रम सञ्चालन गरेका हौँ । यो कार्यक्रम अब निरन्तर जान्छ,’ उनले भनिन् ।
छोरी जन्मिएको खबर पाएपछि पालिकाका जनप्रतिनिधि र बैङ्कका कर्मचारी घरमै पुग्छन् ।
घरबाटै जन्म दर्ता हुन्छ, घरमै बैंक खाता खोलिन्छ । छोरीहरू प्रति विभेद बढ्दै गएपछि न्यूनिकरणका लागि नवजात शिशुको नाममा रकम जम्मा गरिएको हो । यसरी पालिकाले जम्मा गरिदिएको रकम छोरीको उमेर १८ वर्ष नपुग्दासम्म निकाल्न मिल्दैन । छोरीको नाममा बचत गर्ने बानीको विकास हुने न्यौपानेको भनाई छ ।
‘नगरपालिकाले त टोकन मनी जम्मा गरिदिएको हो । परिवार र अभिभावकले पनि १८ वर्षसम्म बैङ्कमा रकम राखिदिँदा निकाल्ने बेलामा धेरै पुग्छ,’ उनले भनिन्, ‘पछि अध्ययनमा पनि यही रकमले सहयोग हुन्छ ।’ नगरपालिकामा ‘उपप्रमुखसँग सुत्केरी पोसिलो झोला कार्यक्रम’ र ‘गर्भवतीलाई अण्डा वितरण’ कार्यक्रम सञ्चालनमा भइरहेको छ ।

गल्याङ भन्दा पहिले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा यो कार्यक्रम लागू भैसकेको छ । दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि निर्वाचित भएकै दिन निर्णय भयो, ‘पालिकामा जन्मिएका सबै बालिकाको खातामा ५ हजार नगद जम्मा गरिदिने ।’
उक्त निर्णयपछि हालसम्म पालिकाले ७८ जना बालिकालाई ५ हजारका दरले नगदै जम्मा गरिदिएको छ । ‘छोरीलाई हेंला गर्ने समाज अहिले पनि छ । छोरी जन्माउने आमालाई गर्ने दुर्व्यवहार अहिले पनि उस्तै छ,’ उपाध्यक्ष सीता अधिकारी भन्छिन्, ‘छोरी जन्मिँदा गर्व गर्न सक्ने बनाउन यस्तो निर्णय गरिएको हो । केही हदसम्म हामी हाम्रो उद्देश्यमा पुगेका पनि छौँ ।’
गत आर्थिक वर्षमा ६४ जना र चालू वर्षको हालसम्म १४ जनाले यो सुविधा लिएका छन् । छोरी जन्माउन प्रोत्साहनका लागि पालिकाले सबै छोरीलाई नगद दिने निर्णय गरेको उनले सुनाइन् ।
वि.सं.२०८० मंसिर २५ सोमवार १०:०१
















