निजगढमा प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता सुरु
वडा अध्यक्ष लामाले गरे उद्घाटन
वि.सं.२०८० माघ ६ शनिवार १५:२३

बारा–बाराको निजगढमा प्रथम खुला प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बारा जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा निजगढ–८ स्थित जिल्ला कर्भड हलमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको निजगढ वडा नं. ८ का वडा अध्यक्ष स्वर्ण लामाले उद्घाटन गरेका छन् । जिल्ला अध्यक्ष चित्रबहादुर लामा नन्दुको अध्यक्षतामा भएको कार्यक्रममा मधेस तेक्वान्दो संघका उपाध्यक्ष सुरेश लामा, अन्तर्राष्ट्रिय निर्णायक मकवानपुरका विमल विक., अन्तर्राष्ट्रिय निर्णायक काठमाण्डौंका नविना बुढाथोकी, राष्ट्रिय निर्णायक नवलपरासीका नविन गुरुङ, महोत्तरी जिल्ला तेक्वान्दो कार्यसमिति अध्यक्ष रजनी लामा सहभागि थिए । निर्णायक, डोजाङ प्रमुख लगायतको सहभागिता रहेकोे कार्यक्रमको सञ्चालन दिपककुमार खड्काले गरेका थिए ।

प्रतियोगितामा २५ किलो तौल समुहदेखि ५९ किलो तौल समुहमा प्रतिस्पर्धा हुनेछ । जसमा ११ वटा महिला र ११ वटा पुरुष गरि एक सय ९० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा मधेस प्रदेशमा रौतहट जिल्ला बाहेकका टोली छन् । त्यसैगरि बागमति प्रदेशका मकवानपुर र चितवन जिल्लाका कुल १४ डोजाङका खेलाडीले प्रतिस्पर्धा भईरहेको छ ।
प्रतियोगिता सञ्चालन गर्न निजगढ वडा नं. ८ को कार्यालयले आर्थिक सहयोग गरेको छ भने प्रतियोगिताको निजगढ रिर्सोटको प्रायोजक र मिडिया पार्टनर निजगढ समाचार र फरक नेपाल डट कम रहेको छ ।
वि.सं.२०८० माघ ६ शनिवार १५:२३

















