skip this farak Kura Pravakar

मधेशका मुख्यमन्त्री सिंहले दिएको राजीनामा स्वीकृत

591 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । सिंहले मंगलबार बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए ।

सिंहले पठाएको राजीनामाको पत्र प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिएका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६९ को उपधारा (३) बमोजिम नयाँ सरकार गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्ले नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकेको निमित्त सचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुखले मंगलबार नै नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

नयाँ सरकार गठनका लागि भोलि बुधबार ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्‍याएर दाबी पेश गर्न आह्वान गरिएको छ ।

१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।

मधेश प्रदेश सभामा कांग्रेसको २२, नेकपा एमालेको २५, जनता समाजवादी पार्टी, नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ९, नेकपा माओवादी केन्द्रको ९, एकीकृत समाजवादी पार्टीका ७, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक/एक गरी १०७ जना सदस्य छन् ।

 

 

nijgadh-supermart-adz1200-630