skip this

मधेशमा ‘मोन्था चक्रवात’ को असर देखिने जोखिम छ, धान नकाटौं : मुख्यमन्त्री सोनल

453 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम-मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले मोन्था चक्रवातको असर मधेश प्रदेशमा देखिने सम्भावना रहेको भन्दै किसानहरूलाई धानबाली नकाट्न वा काटेको भए तत्काल भित्र्याउन आग्रह गरेका छन् ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकपछि बोल्दै मुख्यमन्त्री सोनलले धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने काम गर्न अनुरोध गरेका हुन् ।

मुख्यमन्त्री सोनलले नदी, खोला र नहरहरू नजिक सकभर आवत-जावत कम गर्न आग्रह गर्दै पानी जमेको ठाउँमा हिँड्दा वा घर बाहिर निस्किँदा बिजुलीका तार वा पोलहरुबाट टाढा रहन समेत आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको पछिल्लो चेतावनी र पूर्वानुमान अनुसार मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा बिहीबार दिउँसो (१३ कात्तिकदेखि १५ कात्तिक) देखि शनिबारसम्म मौसम प्रभावित भई मध्यमदेखि अति भारी वर्षा हुने र त्यसका कारण बाढी तथा डुबानको उच्च जोखिम रहेको जानकारी उनले गराए ।

विशेषगरी सप्तकोशी, बागमती, कमला, रातु, लखन्देही र लालबकैया लगायत प्रमुख नदी तथा खोलाहरूको जलस्तर खतराको तहभन्दा माथि पुग्ने सम्भावना देखिएको भन्दै उनले सम्भावित प्राकृतिक विपत्तिको गम्भीरतालाई आत्मसात गर्दै प्रदेश बासीलाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेका छन् ।

उनले भनेका छन्, ‘सबैभन्दा पहिले नदी किनारका तथा डुबानको जोखिममा रहेका बस्तीहरूका नागरिकलाई नजिकैका उच्च स्थानमा अवस्थित सुरक्षित भवन, धर्मशाला, विद्यालय र सार्वजनिक भवनहरूमा तत्काल सर्नका लागि अपिल गर्दछु । आफ्नो अमूल्य जीवन र परिवारलाई सुरक्षित राख्नु नै हाम्रो पहिलो प्राथमिकता हो ।’

जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहले जारी गर्ने सूचनाहरूलाई ध्यान दिएर पालन गर्न आग्रह गर्दै उनले प्रदेश सरकार यो विपत्तिको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको उनले बताए ।

यसका निम्ति २४ सै घण्टा निगरानी गरिरहेका उनले बताए ।

मधेश प्रदेश प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विपद् उद्धार टोलीलाई सम्भावित जोखिम क्षेत्रहरूमा तयारी अवस्थामा राखिएको उनले बताए । साथै आवश्यक पर्ने डुंगा, लाइफ ज्याकेट र अन्य उद्धार सामग्रीहरुको भण्डारण सुनिश्चित गरिएको उनले जानकारी दिए ।

विपद्को घडीमा प्रदेश सरकार जनताको साथमा रहेको भन्दै उनले कुनै पनि समस्या परेमा वा सहयोग चाहिएमा तत्काल नजिकको सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालय वा मधेश प्रदेश सरकार गृह सञ्चार तथा कानुन मन्त्रालयमा सम्पर्क गर्न उनले अनुरोध समेत गरेका छन् ।

nijgadh-supermart-adz1200-630