दोस्रो पटक चुनावी मैदानमा शम्भु बुढाथोकी : १२ वर्षमा खोला फर्किनेमा ढुक्क !
वि.सं.२०८२ फागुन १८ सोमवार ०८:२३

दोस्रो पटक चुनावी मैदानमा शम्भु बुढाथोकी स् १२ वर्षमा खोला फर्किनेमा ढुक्क ! कांग्रेसका भेट्रान नेता उमाकान्त, सुरेशदेखि रास्वपा छाडेकी ममतासम्मको पाए
२०७० साल, दोस्रो संविधान सभा निर्वाचन । बारा क्षेत्र नं. ६ मा एउटा नयाँ माहोल सिर्जना भयो । कमजोर पार्टी संरचनामा बसेर स्थापित दलहरुको मुटुमा ढ्याग्रो ठोक्ने उम्मेदवार थिए–कांग्रेसका शम्भुबहादुर बुढाथोकी ।
गाउँ र शहर शम्भुकै लहर थियो । पहिलो पटक पार्टीको झण्डा उठाउन तयार भएका थिए–यूवा पुस्ता । उनीप्रति यूवाको लहर थियो । खुल्न नसकेका कांग्रेसी पहिलो पटक मज्जैले खुलेर लागे । तर, धेरैको मतदाता नामावलीमा नाम नहुदाँ शम्भुले मन जितेपनि मत जित्न सकेनन् ।
चुनावमा पराजित भएपनि जनतामाझ उनीसँगै रहिरहे । त्यो बेलादेखि जुर्मुराएको पार्टीलाई चलायमान बनाईरहे । पार्टीको विभिन्न तह हुदै अहिले केन्द्रिय सदस्य बनेका छन् ।
समाज र जनताको लागि पार्टी भन्दा माथि उठेर काँधमा काँध हालेर अघि बढेका शम्भुले भैपरि आउने समस्या टार्नेदेखि पूर्वाधार विकासमा समेत भूमिका खेलिरहेका छन् ।
१२ वर्षपछि पुनः जनतामाझ मत जित्न शम्भु चुनावी मैदानमा छन् । पार्टी नेता–कार्यकर्तादेखि जनतासम्म पुग्दै गरेका उनी १२ वर्षपछि खोलो फर्किनेमा विश्वास व्यक्त गर्छन् ।
जेनजी आन्दोलनको भावना अनुसार रुपान्तरित काँग्रेसको केन्द्रिय सदस्यका रुपमा उम्मेदवार बन्दै गर्दा पार्टीभित्रको असन्तुष्टि मुख्य चुनौति भएपनि त्यसको व्यवस्थापनमा सफल भएका छन्, शम्भु ।
जिल्ला पार्टी कमिटीदेखि स्थानीय र प्रतिनिधि सभासम्मका चुनावी तुस मेट्दै काग्रेसीजनले लोभलाग्दो एकता प्रदर्शन गरेका छन् । उनले निजगढका प्रथम मेयर सुरेशकुमार खनालदेखि पूर्वमन्त्री उमाकान्त चौधरीसम्मको साथ पाएका छन् । उनका लागि मत माग्न घरदैलोमा हिडेको दृष्यले कांग्रेसमा उत्साह थपिएको छ ।
नयाँ दलहरुप्रति आकर्षण बढेको बेलामा उनकै क्षेत्रकी ममता शर्मा कांग्रेस प्रवेश गरेकी छिन् । जो रास्वपाकी संस्थापन प्रदेश अध्यक्ष हुन् । यसलाई कांग्रेसलाई थप बलियो बनाउँदै जीत नजिक पु¥याएको छ ।
को हुन् शम्भु
नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि शम्भुबहादुर बुढाथोकीलाई उम्मेदवार बनाएको छ। उद्योग–व्यवसाय, सामाजिक सेवा र पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका बुढाथोकीलाई कांग्रेसले भरोसायोग्य उम्मेदवारका रूपमा अघि सारेको हो।
२०३४ साल चैत २४ गते बाराको निजगढ नगरपालिकामा जन्मिएका बुढाथोकी भक्तबहादुर बुढाथोकी र भगवती बुढाथोकीका सुपुत्र हुन्। आधारभूत तह (कक्षा ८) सम्म औपचारिक शिक्षा हासिल गरेका उनी पेसाले ठेक्का–पट्टासँग आबद्ध व्यवसायी हुन्। व्यावसायिक अनुभवसँगै उनले राजनीति र सामाजिक क्षेत्रलाई पनि सँगसँगै अघि बढाउँदै आएका छन्।
बुढाथोकीको राजनीतिक यात्रा नेपाली कांग्रेसको संगठन निर्माणसँग नजिकबाट जोडिएको छ। उनी पार्टीको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। १४औँ महाधिवेशनमा बारा जिल्ला सभापति पदका उम्मेदवार बनेका उनी पराजित भए पनि संगठनभित्र सक्रिय भूमिकामा रहँदै आएका छन्। यसअघि ११औँ र १२औँ महाधिवेशनबाट जिल्ला समिति सदस्यसमेत निर्वाचित भएका थिए भने १३औँ महाधिवेशनपछि बारा जिल्लाको संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी बारा जिल्लाको तत्कालीन क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलसँग पराजित भएका थिए। संसदीय अनुभवको अभाव र प्रतिस्पर्धी क्षेत्र रहेको तथ्यलाई बुढाथोकीको चुनौतीका रूपमा हेरिएको छ।
राजनीतिसँगै उनी सामाजिक तथा व्यावसायिक क्षेत्रमा पनि सक्रिय छन्। उनले निजगढ उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी दुई कार्यकाल (२०७४–२०७८) सम्म सम्हालिसकेका छन्। साथै रेडक्रस, सहकारीलगायत विभिन्न स्थानीय संघ–संस्थामार्फत निजगढ क्षेत्रमा लामो समयदेखि सामाजिक सेवामा संलग्न रहँदै आएका छन्।
वि.सं.२०८२ फागुन १८ सोमवार ०८:२३
















