वरिष्ठता विवादबीच डा. मनोजकुमार शर्मा बने प्रधानन्यायाधीश, राष्ट्रपतिबाट शपथ ग्रहण
वि.सं.२०८३ जेठ ५ मंगलवार १९:०२

मनोजकुमार शर्माले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार शर्माले आजै पदभारसमेत सम्हाल्ने कार्यक्रम रहेको छ ।
यसअघि संवैधानिक परिषद्ले न्याय परिषद्बाट सिफारिस गरिएका ६ जना न्यायाधीशमध्ये सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि अघि सारेको थियो । परिषद्को उक्त निर्णयपछि न्यायालयभित्र वरिष्ठताको परम्परा तोडिएको भन्दै बहस सुरु भएको छ ।
प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर नेपाल बार एसोसिएसन लगायत कानुन व्यवसायीहरूले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि असर पर्ने भन्दै विरोध जनाइरहेका छन् । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई सम्भावित प्रधानन्यायाधीशका रूपमा हेरिएको अवस्थामा शर्माको सिफारिसले थप चर्चा पाएको हो ।
यसबीच सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्दै ६ सदस्यीय परिषद्मा ३ सदस्य उपस्थित भए पनि निर्णय गर्न मिल्ने व्यवस्था ल्याएको थियो । सोही व्यवस्थापछि बसेको परिषद् बैठकले शर्माको नाम अनुमोदनका लागि सिफारिस गरेको थियो ।
तर, उक्त निर्णयमा प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले असहमति जनाएका थिए । दुई सदस्यको फरक मतका बाबजुद परिषद्ले शर्माको नाम अगाडि बढाएको हो ।
वि.सं.२०८३ जेठ ५ मंगलवार १९:०२
















