संरक्षणको पर्खाइमा निजगढ–८ को पुरानो कृषि भवन
सरकारी उदासिनताले जीर्ण बन्दै ऐतिहासिक संरचना, अहिले ‘लुगा सुकाउने थलो’
वि.सं.२०८३ जेठ ९ शनिवार ०९:५३

निजगढ, बारा — कुनै समय स्थानीय कृषकलाई सेवा दिने उद्देश्यले सञ्चालनमा रहेको निजगढ नगरपालिका–८ स्थित पुरानो कृषि भवन अहिले संरक्षणको अभावमा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ। राज्यको सम्पत्ति भएर पनि सम्बन्धित निकायको बेवास्ताका कारण उक्त भवन अहिले प्रयोगविहीन मात्र बनेको छैन, स्थानीयका अनुसार “लुगा सुकाउने थलो” जस्तै अवस्थामा पुगेको छ।
वर्षौंदेखि उचित मर्मत–सम्भार नपाउँदा भवनका भित्ताहरू चर्किएका छन्, झ्याल–ढोका बिग्रिएका छन् भने कतिपय भाग भत्किने अवस्थामा पुगेका छन्। भवनको छाना चुहिने, वरिपरि झारपात बढ्ने तथा सरसफाइको अभाव देखिँदा सरकारी सम्पत्तिको संरक्षणप्रति गम्भीर प्रश्न उठेको छ।
स्थानीयवासीका अनुसार भवन लामो समयदेखि प्रयोगविहीन हुँदा यसको अवस्था झन् नाजुक बन्दै गएको हो। “यो भवन कहिल्यै सरकारी कार्यालय जस्तो लाग्दैन, अहिले त परित्यक्त घर जस्तो भइसकेको छ,” एक स्थानीयले दुखेसो पोख्दै भने। उनका अनुसार भवनको संरक्षणमा न नगरपालिका गम्भीर देखिएको छ, न वडा कार्यालय नै सक्रिय देखिएको छ।
भवनको परिसर अहिले व्यवस्थित सरकारी कार्यालयभन्दा बढी अस्थायी प्रयोगको केन्द्र बनेको स्थानीयको भनाइ छ। कतिपयले भवन वरिपरि लुगा सुकाउने, सामान थुपार्ने तथा अव्यवस्थित रूपमा प्रयोग गर्ने गरेको देखिन्छ। सरकारी सम्पत्तिको यस्तो दुरुपयोग भइरहँदा सम्बन्धित निकाय भने मौन देखिएको स्थानीयको आरोप छ।
यस विषयमा वडा नम्बर–८ का वडा अध्यक्षसँग बुझ्दा उक्त भवनलाई मौसम सम्बन्धी कार्य सञ्चालन गर्ने उद्देश्यले प्रयोगमा ल्याउने योजना रहेको जानकारी दिएका छन्। उनका अनुसार त्यसका लागि कर्मचारी व्यवस्थापन समेत गरिएको छ। तर भवनको वास्तविक अवस्था हेर्दा त्यहाँ कर्मचारी बसेर काम गर्न सक्ने वातावरण नै नरहेको स्थानीय बताउँछन्।
“यदि कार्यालय सञ्चालन गर्ने योजना छ भने पहिले भवन बस्न योग्य बनाउनुपर्छ,” अर्का स्थानीयले भने, “अहिलेको अवस्थामा त्यहाँ मानिस बस्ने त परको कुरा, केही बेर उभिन पनि गाह्रो छ।”
स्थानीयवासीका अनुसार समयमै मर्मत र संरक्षण नहुँदा भवन पूर्ण रूपमा क्षति हुने खतरा बढ्दै गएको छ। कतिपयले भवन ऐतिहासिक महत्व बोकेको भन्दै यसको संरक्षण आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार सरकारी भवनहरू निर्माण गरेर छोड्ने प्रवृत्तिले राज्यको सम्पत्तिमाथि ठूलो क्षति पुर्याइरहेको छ।
निजगढ नगरपालिकाले विकास निर्माणका नयाँ योजनाको चर्चा गरिरहँदा पुराना संरचनाको संरक्षणतर्फ भने ध्यान पुग्न नसकेको गुनासो बढ्दो छ। करोडौं लगानी गरेर निर्माण गरिएका संरचनाहरू उपयोगविहीन भएर बिग्रँदै जानु राज्यको आर्थिक क्षतिको विषय मात्र नभई स्थानीय सरकारको कार्यक्षमतामाथि समेत प्रश्न उठ्ने विषय भएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।
स्थानीयहरूले तत्काल भवनको प्राविधिक मूल्यांकन गरी मर्मत, रंगरोगन, सरसफाइ तथा नियमित प्रयोगको व्यवस्था गर्न माग गरेका छन्। साथै भवनलाई पुनः कृषि, मौसम, वा अन्य सार्वजनिक सेवा प्रवाह केन्द्रका रूपमा सञ्चालन गर्न सके स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने उनीहरूको विश्वास छ।
सरकारी सम्पत्तिको संरक्षण र सदुपयोग गर्ने जिम्मेवारी स्थानीय सरकारकै भएकाले निजगढ नगरपालिका र वडा कार्यालयले अब ढिला नगरी आवश्यक कदम चाल्नुपर्ने स्थानीयको माग छ। अन्यथा केही वर्षमै उक्त भवन पूर्ण रूपमा भत्किने जोखिम रहेको उनीहरूको चेतावनी छ।
वि.सं.२०८३ जेठ ९ शनिवार ०९:५३
















