पूर्वाग्रही ढङ्गबाट हिड्न थालेपछि सिम्रौनगढमा समस्या आएको हो : वडा अध्यक्ष सहनी (अन्तवार्ता)
नगर सभालाई स्विकार गर्न सकिदैन
वि.सं.२०८० कात्तिक २१ मंगलवार २१:४९

बाराको सिम्रौनगढमा कर्मचारी आन्दोलनमा छन् । प्रमुख प्रशासकीय विहीन रहेको अवस्थामा नयाँ नयाँ प्रमुख प्रमुख प्रशासकीय अधिकृत आएपनि हाजिर हुन सकेनन् । यसमा नगर प्रमुख किशोरी प्रसाद कलवारले काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले अवरोध गरेको कारण हाजिर हुन नसकेको आरोप लगाएका छन् । मेयर कलवारको आरोपबारेमा काँग्रेसबाट निर्वाचित सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अवधेश सहनीसँग गरेको कुराकानीको सम्पादित अंश :
सिम्रौनगढमा जनप्रतिनिधिको बीचमा देखिएको विवाद के हो ? यो कसरी सुरु भयो ?
सिम्रौनगढ नगर प्रमुखको भेदभावपूर्ण र पूर्वाग्रही ढङ्गबाट हिड्न थालेपछि समस्या सुरुवात भएको छ । विगतमा हामीले निकै राम्रो ढङ्गबाट नगर सभा गरेका थियौं । नगर सभामा योजना र बजेटको सिलिङको विषयमा भएका सहमतिबाट नगर प्रमुुख नहिडेर एकलौटी ढङ्गबाट हिड्नु भयो । सिलिङ तोकेको भन्दा फरक तरिकाले बजेट निनियोजन गर्ने, आफु निकटका वडा अध्यक्षलाई तोकेको भन्दा बढी र कांग्रेसले जितेको वडामा निकै कम बजेट छुट्याउने, कार्यादेश नदिने, कार्यदेश लिएर भएका कामको भुक्तान रोक्ने काम गर्न थाल्नु भयो ।
नगर सभापछि कार्यपालिका बैठक राख्न चाहानु भएन । धेरै ताकेतापछि एक÷दुई वटा बैठक भएपनि निर्णय कार्यान्वयन नगर्ने प्रवृति देखियो । सिम्रौनगढमा बैठक नबसाएपछि हामीले सिडियो र एसपीको कार्यालयमा उहाँहरुको उपस्थितिमा समेत बैठक बसेका छौं । त्यो बैठकलाई पनि नमान्ने गर्नुभयो ।
तर, एकलौटी रुपमा विभिन्न निर्णय गर्दै जानुभयो । जुन विषय अहिले विवादित बनेको छ । उहाँको एकल निर्णयको कारण नगरपालिका अस्तव्यस्त बनेको छ । कर्मचारी हटाउने निर्णय गर्नुभयो, जसका कारण नगर अस्पताल बन्द अवस्थामा पुगेको छ ।
उहाँले नगरपालिकामा कार्यरत २०५ जना कर्मचारीलाई हटाउने योजना ल्याउनु भयो । कर्मचारीको भार घटाउने भनेर त्यस विषयमा हामीले सहमतिमा नै कार्यपालिका बैठकबाट कार्यदल बनायौं । कार्यदलको सुझावका आधारमा कर्मचारी कटौती गर्ने भनियो तर त्यसलाई लत्याएर आफु खुसी कर्मचारी हटाउने काम गर्नुभएको छ । सुशासन समितिले १६३ जना कर्मचारीलाई हटाउने प्रतिवेदन दिएको थियो । त्यो निर्णय नमानेर ९३ जनाको सूची बनाएर हटाउने भनेर एकलौटी रुपमा सूचना सार्वजनिक गर्नुभयो । पछि आफैले सार्वजनिक गरेको सूचीको पनि हटाउने काम गर्नुभयो ।
नगर प्रमुखले नगर सभाको निर्णय भन्दा बाहिर गएर शिर्षक बाहिरबाट विभिन्न स्वागत र सम्मान कार्यक्रममा लाखौं खर्च गर्नुभएको छ । उहाँले होली मिलन, इण्डियाको नयाँ वर्ष, मुख्यमन्त्री र उपराष्ट्रपतिको सम्मानका नाममा १५ लाख भन्दा बढीका दरले खर्च गर्नुभएको छ । सम्मानप्रति हाम्रो विरोध होईन तर त्यसको नाममा बढी खर्च गरेर अनियमितता गरिएको छ ।
त्यसैगरि स्वकीय सचिव सुभाष कुशवाहको नाममा ६० लाखबढी निकालिएको छ ।
त्यसैगरि नगर सभाबाट ५० लाख र विविध भनेर थप १० लाख गरि ६० लाख इन्धनको शिर्षकमा छुट्याईएकोमा दुई करोड भन्दा बढीको खर्च गरिएको छ । त्यसमा पनि सम्झौता नभएको आफ्नै पेट्रोल पम्पलाई समेत ३० लाखजति भुक्तानी भएको छ ।
नगर प्रमुखले अनावश्यक रुपमा कलैयामा समेत नगरपालिकाको क्वाटर भाँडामा लिनु भएको छ । आफ्नै भाईको नाममा रहेको घर सम्झौता गरेर भाँडामा लिने काम गर्नुभएको छ, जबकी सिम्रौनगढमा पनि क्वाटर छ, नगरपालिकाको आफ्नै भवन पनि छ ।
नगरपालिकाको ट्याक्टर मर्मत नगरेर आफ्नो मान्छेको ट्याक्टर भाडामा लिएर प्रयोग गरिरहनु भएको छ । वडा नम्बर ६ का वडा अध्यक्षको ट्याक्टर प्रति महिना ६० हजार र इन्धनसहित ९० हजार खर्च गरेर बजारको फोहोर व्यवस्थापनमा खटाएको छ । त्यसको उद्देश्य आफन्तको साधन प्रयोग गरेर भ्रष्ट्राचार गर्ने नै हो ।
यो त विगतको कुरा भयो, हालै भएको नगर सभाको विवाद के हो ?
–आर्थिक वर्ष २०८०÷८१ को लागि ७ औं नगर सभा गर्नका लागि असार १० गते पत्र काट्नु भयो । त्यो दिन सभाहल भरिभराउ थियो, १०० प्रतिशत नै उपस्थिति थियो । त्यो दिन उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने आयव्यय प्रस्तुत गर्ने कार्यक्रम राख्नु भएको थियो । उहाँले त्यसको तयारी गरेर आउनु भएको रहेनछ । हामीले आयव्यय माग्यौं । विगतमा भएका कामको हिसाब किताब माग्यौं । त्यो सार्वजनिक गर्नुपर्छ, हामीलाई जनताले सोध्छन् भनेपछि उहाँले त्यो सार्वजनिक गर्ने काम उपमेयरको हो भनेर पन्छिन खोज्नु भयो र उपमेयरलाई असक्षम भन्दै लाल्छना लगाउने काम गर्नुभयो । जबकी गल्ती आफु गर्ने, तयारी पुरा नगरि सभा राख्ने, उपमेयरलाई दोष थोपर्ने काम गरेपछि विवाद सिर्जना भयो । त्यसपछि उहाँले नगर सभा स्थगित गर्नुभयो । हामीले हस्ताक्षर गर्दा गर्दै माइन्यूट खोसेर लैजाने काम गर्नुभयो । उहाँले सबैको हस्ताक्षर गराउन चाहानु भएन । ५÷७ जनाले हस्ताक्षर गरेपछि माईन्यूट कार्यलय सहायकलाई दिनुभयो, उ त्यो लिएर भाग्यो । उहाँको नियत नै सभा राख्ने तर हस्ताक्षर नगराउने नै थियो । र गणपुरक संख्या अपुग भयो भनेर देखाउने योजना रहेछ ।
त्यसको तीन महिनापछि असोज २१ गतेको लागि पत्र काट्नु भयो । त्यसअघि कुनै पहल नै गर्नुभएन । तर, पनि हामी सबै उपस्थित भयौं । नगर सभाहलमा ९८ प्रतिशत नगर सभा सदस्यको उपस्थिति रहेको थियो । तर, एक्कासी मेयर’साहेब उठेर स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७६ बमोजिम नगरपालिकाको सम्पूर्ण काम काजको जिम्मा प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसँग भएको यो आजको बैठकम गणपुरक अपुग भएको कारण यो बैठक स्थगित गरिएको छ र अर्को बैठक असोज २४ गते हुने सूचना सुनाएर बाहिरिनु भयो ।
२४ गतेको सूचना प्रकाशित भयो । समयमै हामी उपस्थित भयौं र माईन्यूटमा हस्ताक्षर गरेका थियौं । त्यो दिन ५२ जनाको उपस्थिति रहेको थियो । तर, त्यो बैठकपनि स्थगित भयो । त्यो दिनचाँही सल्लाहमा नै भएको हो । समय ढिलो भईसकेको थियो । रातै पर्न थालेकाले उहाँले ४÷५ दिन समय लिएर नगर सभाको सूचना नकाटेर पहिले नै छलफल गरेर कुन–कुन कुरामा हाम्रो सहमति छ, कुन कुन कुरामा हाम्रो छैन, त्यो सबै कुरालाई केलाएर, मिलाएर सूचना काट्ने हो । नगर सभा एउटा औपचारिकताको लागि हुन्छ, बाँकी कुरा पहिल्यै मिलाउँछु अनि सूचना काट्छु त्यो भनेर स्थगित गरिएको थियो । त्यसमा हाम्रो पनि सहमति थियो । मेयरसाहेबलाई समय पुगेको छैन, ठिकै छ, नगर सभा हो, हतार नगरौं भनेर सबै कुरा समेटेर सबैको सम्झौता, समन्वय गरेर गरौं भनेर सर्वसम्मतमै स्थगित भयो ।
तर, स्थगित भएपछि कुनै पनि माध्यमबाट कसैलाई खबर गरिएन । सिधैं ७ दिनको म्याद राखेर कार्तिक ३ गतेको सूचना काटिदिनु भयो । त्यो सूचनामा असोज २१ र २४ गतेको बैठकमा गणपुरक संख्या अपुग भएकाले त्यसको कारण कार्तिक ३ गतेका लागि सूचना काटिएको भनेर उल्लेख थियो । विहान ७ बजेको समय राखेर सूचना काटिएको थियो । त्यो दिन साढेँ ६ बजे नै सभा हलमा गएर बस्यौं ।
नगरपालिकामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । हामीले उहाँलाई कुरेर बस्यौं, साढे ७ बजेसम्म पनि आउनु भएन र फोन गर्दा पनि उठाउन छोड्नु भयो । हामीले सिडियो र एसपीस सरसँग समन्वयका लागि कुरा गरेका थियौं । उहाँहरुसँग सुरुमा म जाँदै छु भन्दै हुनुहुन्थ्यो तर पछि ८ बजेबाट फोन उठाउन छोड्नु भयो । सभा हलमा आउँदै नआई साँढे ८ बजे फेसबुकमा अपलोड गरिदिनुभयो कि नगर सभा सम्पन्न भयो भनेर ।
मेयर साहेबले यस्तो बद्मासी गर्नुभयो । उहाँले कार्यक्रममा सबैलाई बोलाएर झुक्याउने र बेईजती गर्ने काम गर्नुभयो । आफु चाँही आदर्शकोतवाल–८ स्थित आफ्नो पेट्रोल पम्पमा बसेर नगर सभा सम्पन्न भएको घोषणा गर्नुभयो । पुरै सदस्य उपस्थित भएको बेलामा २५ प्रतिशत उपस्थित भएको भनेर नगर सभा सम्पन्न भएको भनेर घोषणा गरिएको छ ।
यो नगर सभालाई तपाईहरुले अस्विकार गर्नुभएको हो ? यसको लागि कानुनी उपचारमा जाने योजना छ कि ?
–हामी सबै उपस्थित भएको अवस्थामा २५ प्रतिशत उपस्थित भएको भनेर गरिएको नगर सभालाई स्विकार गर्न सकिदैन । त्यसको प्रमाणित प्रतिलिपी पनि हामीले लिएका छौं । त्यसमा मेयर र निमित्त प्रशासकीय अधिकृतको पनि हस्ताक्षर गराएर लिएका छौं । कसैको अधिकार खोस्न मिल्दैन । वडा अध्यक्षको अधिकार खोस्ने काम भएको छ ।
दुई पटकसम्म गणपुरक नपुगेमा तेस्रो बैठकमा उपस्थित संख्याका आधारमा नगर सभा हुने कानुन हाम्रो नगरमा बनेको छैन । कानुन बनाएर राजपत्रमा प्रकाशित नभएको अवस्थामा यो विधिलाई देखाएर गरिएको षड्यन्त्रपूर्ण नगर सभालाई नगर सभा भएको मान्न सकिदैन ।
तपाईहरु आएपछि नगरपालिकामा कति प्रमुख प्रशासकीय अधिकृत फेरिए ? नयाँ प्रमुख प्रशासकीय अधिकृतको किन हाजिर हुन सकेन ?
–यो १८ दिनमा ५ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । हामी आउँदा प्रमुख प्रशासकीय अधिकृतका रुपमा हरिओम जयसवाल हुनुहुन्थ्यो । दुई दिनका लागि विरेन्द्र साह आउनु भयो । त्यसपछि आउनु भएको दिनेश न्यौपाने ७ महिना बसेर जानु भयो । त्यसपछि प्रकाश खनाल दुई महिनामै जानुभयो । त्यसपछि जय नारायण यादब, भोजेन्द्र चौधरीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भयो । एक जना सरुवा भएर पनि आउनु भएन ।
अहिले रन्जितजंग अधिकारी आउनु भएको थियो तर उहाँको हाजिर भएन । मेयरसाहेबले बोलाउनु भयो तर हाजिर गराउन कार्यालयमा आउनु भएन । तर, प्रमुख प्रशासकीय अधिकृत सर नगरपालिकामा आउनु भयो, हामीसँग कुरा गर्नुभयो । आन्दोलित शिक्षकहरुसँग पनि कुराकानी गर्नुभयो । अनि हामीले भन्यौं कि मेयर साहेबले बोलाउनु भएको छ भने काम गर्नुस् । तर, २५ प्रतिशत उपस्थितिमा गरिएको भनिएको नगर सभाको माइन्यूटमा चाँही हस्ताक्षर नगर्नुहोला, हामी त्यसलाई मान्दैनौं । त्यसमा केहि समस्या छ भने मेयर साहेबलाई पनि बोलाउनुस्, हामीपनि बस्छौं, अनि कुरा गरौं ।
अनि उहाँले मेयर साहेबलाई फोन गरेर तपाई नगरपालिका आउनुस्, यहाँ वडा अध्यक्ष ज्यूहरु, शिक्षक ज्यूहरु पनि यहिँ हुनुहुन्छ तर मेयर साहेबले म आउँदिन बरु म प्रहरीलाई भन्छु तपाई ताला खोलेर काम गर्नुस् । तर हाकिम साहेबले तपाई आउनुस्, ताल्चा खोल्न लगाउनुस्, तपाई समन्वय गर्नुस्, ताल्चा फुटाएर काम गर्ने मेरो काम होईन नि भनेर मेयर साहेबलाई वातावरण मिलाउन आग्रह गर्नुभयो । तपाई वातावरण मिलाउन सक्नु हुन्न भने म कसरी काम गर्न सक्छु तर मेयर साहेबले म आउन सक्दिन, तपाई जे मन लाग्छ त्यहि गर्नुस् ।
तर, मेयर साहेबले त तपाईहरुले प्रमुख प्रशासकीय अधिकृतलाई गाली गलौज गरेको भनेर आरोप लगाउनु भएको छ नि ?
–त्यस्तो केहि भएको छैन । उहाँ त हामीसँग बसेर चिया, चिसो खाएर, कुराकानी गरेर बस्नु भएको थियो । हामीले उहाँलाई कुनै अवरोध गरेका छैनौं । एकदम राम्रोसँग स्वागत नै गरेका थियौं । त्यो बेला ईलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक सर पनि हुनुहुन्थ्यो । त्यहाँबाट उहाँ प्रहरी कार्यालयमा जानु भयो । प्रहरी निरीक्षक सरले हामीलाई पनि त्यहिँ आउनु भन्नु भयो र मेयर साहेबलाई पनि बोलाउँछु भन्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत साहेब मेयरलाई भेट्न जान्छु भन्नु भएको थियो । त्यसपछि उहाँको फोन स्वीच अफ छ । हाम्रो सम्पर्क हुन सकेको छैन ।
कर्मचारी हाजिर हुन अवरोध गर्ने कार्य दुःखद् छ : सिम्रौनगढ मेयर कलवार (अन्तवार्ता)

वि.सं.२०८० कात्तिक २१ मंगलवार २१:४९