कर्मचारी हाजिर हुन अवरोध गर्ने कार्य दुःखद् छ : सिम्रौनगढ मेयर कलवार (अन्तवार्ता)
यसको जिम्मेवारी नेपाली काँग्रेसका वडा अध्यक्ष हुन्

वि.सं.२०८० कात्तिक २१ मंगलवार १०:४४

सिम्रौनगढ नगरपालिका प्रमुख किशोरी प्रसाद कलवार
बाराको सिम्रौनगढमा सेवा प्रवाह र कर्मचारी तलब विहीन अवस्थमा छन् । ४ महिनादेखि तलब नपाएपछि कर्मचारी, शिक्षक २० दिनदेखि आन्दोेलित छन् । ढिलो गरेर नगर सभा गरिएपनि एउटा पक्ष त्यसमा असन्तुष्ट छ । प्रमुख प्रशासकीय विहीन अवस्थामा रहेको सिम्रौगढमा नयाँ प्रमुख प्रमुख प्रशासकीय अधिकृत आएपनि हाजिर हुन सक्ने अवस्था नभएपछि फर्किएका छन् । यसै सन्दर्भमा स्थानीय सञ्चारकर्मी मोहनलाल पण्डितले नगर प्रमुख किशोरी प्रसाद कलवारसँग गरेको कुराकानीको सम्पादित अंश :
नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत आउनु भयो तर हाजिर हुन नसकेर फर्किने अवस्था कसरी बन्यो ?
–नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ल्याउन मधेसका मुख्यमन्त्री, यो क्षेत्रका प्रतिनिधि सभाका सदस्य र उपराष्ट्रपति समेतको पहलमा अधिकृत आउनु भएको थियो । उपराष्ट्रपति कार्यालयमा कार्यरत रन्जितजंग अधिकारी असोज १४ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पत्र अनसुसार खटाईयो । उहाँ आज आउने, भोली आउने भन्दा भन्दै २० गते आउनु भयो ।
सिम्रौनगढ नगरपालिकामा राजनीतिक द्धन्दका कारण ताला लगाईएको अवस्था उहाँले देख्नु भयो । त्यसपछि नेपाली कांग्रेसका असन्तुष्ट वडा अध्यक्षहरुसँग छलफल गर्नुभयो । तर, उहाँहरुले जबसम्म समन्वय हुँदैन तब सम्म ताला नखोल्ने अडान लिनुभएपछि प्रमुख प्रशासकीय अधिकृत जीले मसँग कुराकानी गर्नुभयो, मैले उहाँलाई तीन वटा मुख्य काम गरिदिन आग्रह गरेँ । पहिलो सामाजिक सुरक्षा भत्ता, दोस्रो कर्मचारीको तलब र जनप्रतिनिधिको सेवा सुविधा निकाशा गर्ने अवस्था मिलाउनुस् अनि नगरपालिकामा सहज वातावरण बन्छ भने ।
तर, यहाँ भईरहेको राजनीतिक षड्यन्त्रको कारण उहाँमाथि राम्रो व्यवहार हुन सकेन । उहाँमाथि गालीगलौज भएपछि फर्किने अवस्था बन्यो । जुन दुःखद् कुरा हो । कर्मचारीलाई हाजिर गर्न नदिएको कारण सिम्रौनगढलाई नोक्सान भएको छ । नगरवासीले पाउनु पर्ने सेवाबाट बञ्चित हुने अवस्था बनेको छ । यसको कारण हो, राजनीतिक खड्यन्त्र हो । नगर प्रमुख र नगरपालिकालाई असफल पार्ने, विकास हुन नदिने र यहाँका जनप्रतिनिधिमाथि प्रश्न उठाउने काम भएको छ । यसप्रति म सबै नगरवासीलाई आह्वान गर्न चाहान्छु कि दुःखद् घटना भयो, जुन औचित्यहिन काम भएको छ ।
भत्ता, सेवा सुविधाबाट बञ्चित हुने अवस्था सृजना भएको घटनाप्रति म खेद प्रकट गर्न चाहान्छु । म नगरवासीलाई धैर्यता र संयमता अपनाउन अपील गर्न चाहान्छु । म अझैं प्रमुख प्रशासकीय अधिकृत ल्याएर रोकिएका काम अघि बढाउन प्रयासरत छु । चाडबाडको बेलामा तलब, भत्ता खुलाउन नसकिएको प्रति दुखी छु ।
नगर सभा त गर्नुभयो तर, यो विषयमा उपप्रमुखसहित बहुमत वडा अध्यक्षहरु किन असन्तुष्ट हुनुहुन्छ ?
–मैले उहाँहरुसँग धेरै छलफल गरे । १०–१५ दिनसम्म खाईपिई गरेर छलफल गरेँ । तर, वार्ता सफल भएन । २१ गतेको लागि चिठ्ठी काटियो । तर उहाँहरु उपस्थित भएर पनि हस्ताक्षर गर्नुभयो । ५० प्रतिशत नपुगेपछि २४ गतेलाई बोलाईयो, त्यो दिनपनि उस्तै अवस्था बन्यो ।
सभा सञ्चालनको नियम अनुसार नै कार्तिक ४ गते नगर सभा सम्पन्न भईसकेको छ । नगरवासीलाई म यस विषयमा प्रष्ट पार्न चाहान्छु कि नगर सभा सम्पन्न भईसकेको छ । यसमा कुनै दुविधा वा भ्रष्ट्रचारी र अन्यमा छैनन् ।
कुन विधि अनुसार तपाईले नगर सभा सम्पन्न गर्नुभयो ?
–नगर सभा सञ्चालन गर्ने विधि अनुसार पहिलो पटक र दोस्रो सभामा ५० प्रतिशत अनुपस्थित भएमा स्थगित हुन्छ र तेस्रो पटकमा जति उपस्थिति छ त्यसबाटै सभा सम्पन्न गर्न सकिने भएकाले त्यसै अनुसार नगर सभा सम्पन्न भएको म प्रष्ट पार्न चाहान्छु ।
वडा अध्यक्षहरुलाई अपमान गरेर प्रशासन लगाएर मुख्यमन्त्रीको साथ दिएर तपाईले नगर सभा गर्नुभएको आरोप छ नि ?
–मैले उहाँहरुसँग १५ दिनसम्म लगातार कचोर्वादेखि सिम्रौनगढसम्म छलफल गरेँ । तर निस्कर्ष निस्केन । त्यसपछि मैले विधि अनुसार अघि बढेर नगर सभा सम्पन्न गरेको हुँ । यसमा मुख्यमन्त्री वा उपराष्ट्रपतिलाई जोड्न आवश्यक छैन ।
अब कसैलाई मान्य हुने नहुने कुरा भएन, यो नियम अनुसार भएको कुरा हो । उहाँहरुले नियम हेर्दा हुन्छ नि ! त्यसैले अब यहि विषयमा नगरपालिकालाई अवरोध गर्नु भनेको यो भ्रष्ट्राचार हो । अब नगर सभा सम्पन्न भईसकेको छ, विकासका काम अघि बढाउन र कर्मचारी र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यमा कर्मचारीलाई काम गर्ने वातावरण बनाउनुपर्छ ।
जनप्रतिनिधिको लडाईँको कारण नगरवासीले सेवा सुविधा नपाउने अवस्था सृजना हुनुमा यसमा मुख्य जिम्मेवारी कसको हो ?
– यसको मुख्य जिम्मेवारी नगर प्रमुख भएका नाताले मेरो पनि हो । नगर प्रमुखका रुपमा मैले समन्वय गरेर प्रमुख प्रशासकीय अधिकृत ल्याउने काम गरेँ । तर, नेपाली काँग्रेसका जनप्रतिधिका कारण हाजिर हुन नसकेर उहाँ फर्किने अवस्था बन्यो । त्यसकारण यसको जिम्मेवारी नेपाली काँग्रेसका वडा अध्यक्षमाथि म यो दोष लगाउन चाहान्छु ।
प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन सकेको भए दुई÷तीन भित्र नै सबै तलब भत्ता निकासा हुन्थ्यो । तर, नेपाली काँग्रेसका वडा अध्यक्षहरुको कारण त्यो हुन सकेन ।
चाडपर्वअघि प्रमुख प्रशासकीय अधिकृत ल्याएर तलब भत्ता निकासा हुने सम्भावना छ कि छैन ?
–नगरवासी र कर्मचारीलाई म धैर्यता बनाउन आग्रह गर्न चाहान्छु । म पुनः मन्त्रालय जाँदैछु । मन्त्रीसँग भेटेर कुनै पनि उपाय लगाउने छु । यदि भएन भने अहिले कर्मचारी फिर्ता हुने अवस्था बन्यो यसप्रति म खेद प्रकट गर्न चाहान्छु जो नेपाली काँग्रेसका जुन–जुन वडा अध्यक्ष र कर्मचारी नगरपालिकाको गेटमा उभिएर प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिएनन् ।
चाडबाड अघि नै व्यवस्था मिलाउन अझै पनि प्रयासरत छु । नगरवासीलाई हात जोडेर प्रार्थना गर्न चाहान्छु कि धैर्यता राखिदिनु होला । म छलफल र समन्वय गर्न तयार छु । यो समस्या समाधानका लागि । मेरो भूमिका नगरवासीप्रति समान छ । मैले नगरपिताका रुपमा सबैलाई एकैनासले हेरेको छु । यो मेरो कमजोरी नठानियोस् । म द्धन्द्ध चाहान्न । अहिले जुन घटना भईरहेको छ, त्यो दुुःखद् छ ।
तीन महिनादेखि सिम्रौनगढ नगर अस्पताल ठप्प, तीन दिनभित्र सेवा सञ्चालन गर्न अल्टिमेटम

वि.सं.२०८० कात्तिक २१ मंगलवार १०:४४