जन्मदिनको अवसरमा भाइलाई दिदी अजात काधिराको मन छुने पत्र !
वि.सं.२०७८ माघ ६ बिहीवार १६:००

प्यारो भाई,
मिठो सभ्झना आज माघ ६ अर्थात खुसीको दिन ,
तिमी जन्मेको दिन । मेरो भाई हामीले दुखलाई नजिकबाट नियाल्यौ , त्यतिमात्र होईन भोग्यौ र त्यसलाई बुझ्यो । काठमाडौको शुरुवाति हाम्रो बसाई , भर्खर बामे सदै गरेका हाम्रा रहरहरु , अनि साझा समझौता जो हामीले मनमनै बुनेका थियौ । जे छ त्यहि खाने र जस्तो छ त्यसैमा रमाउने ।
आज सम्झिदा पनि मन भक्कानियर आउछ । कलेज पढनका लागी तिमिले गरेका अथक प्रयास अनि दुःखहरु ति दिनमा मैले दिनको २० रुपैया दिएका ति हाम्रा दुखभरीएका दिनहरु ।
दिन कति फेरीए अनि अवस्था बदल्ने हम्रो प्रयास । समयले कसलाई कहाँ पु¥याउछ भन्ने पत्तो नहुदो रहेछ । हाम्रो हकमा पनि यस्तै हुन पुग्यो है ! बुवा स्वर्गबास, आमा गोरखा, म ललितपुर अनि तिमि त्रिशुली तिरको बसाई ।
बुवाको अभाव भए पनि तिम्रो जन्मदिनमा सँगै बसेर मनाउने रहरलाई कोरोनाले पुरा हुन दिएन । यसै पत्र मार्पत तिमिलाई सम्बोधन गदै छु र लेख्दैछु तिमिलाई स्मरण र शुभेच्छारुपी यो पत्र दिनहरुको आफ्नै रफ्तार हुदो रैछ कति छिटो बित्ने रहेछ । यो महशुस गर्दै छु , आज विशेष दिन, आजै हो तिमीले पहिलो पटक आमाको गर्भावस्थाबाट सुन्दर यो धर्तिमा तिमीले प्रवेश गरेको दिन ।
भाई आज तिम्रो जन्म दिन । आज तिमीले २५ औँ बसन्त पार गरिसकेछौ । तर अहिले पनि मलाई मेरो भाई सानै छ भन्ने लाग्छ । तिम्रो जन्मोत्सवको अवसरमा केही अक्षरहरुको संगालो शब्दहरुको सुन्दरता र पिडाहरु तिमीलाई अर्पण गरी रहेकी छु । तिमी र म उस्तै थियौ दुबै बाल्यकालमा हुर्किदै थियौ । म सानै थिए र आज मलाई तिमि जन्मेको र तिमिलाई खेलाएको खासै याद नै छैन ।
फेरी पनि त्यो बाल्यकालको मित्र र भाई दुबै थियौ मेरो लागी । तिमि पेटमा हुदा आमाले सासु ससुराबाट भोगेको बर्बरताको म यहाँ के बयान गरी ति दिन आज पनि मुटुमा छुरा जसरी रोपिन्छन । र ती दिन आज पनि बिजाउनछन यादहरुमा अदृश्य बनेर अनि बहिरहन्छन मेरा आसुहरु मलाई नसोघि आखाको तलाहरुबाट मनको सागर सम्म । ढीकी जाँतो गर्न नआउदा ससुराले कर्कलोको तरकारी र कोदो थालमा राखेर दिएको ति दिनहरु आज पनि उस्तै गरी भावबिभोर बन्छन तिमि त मेरो भाई त्यतिबेला आमाको पेटमा थियौ ।
आमाले सासु ससुराबाट भोग्नु परेको पिडा कुनै उपन्यासको कथा भन्दा कम छैन । ढीँकि जातो गर्न नआउदा आमालाई ससुराले लगाएको बचन र पिडाको कारणले बेला बेलामा आमा आफुलाई आफैले पुर्ण बिराम लगाउन एक पटक भाग्नुभएछ कति भयानक थिए आमाले त्यो बेला सहनु परेको परम्परामा आधारित हिंसा जुन आज म कल्पना गर्दा पनि कहाली लागेर आउछ ।
सायद त्यो दिन आमाले कतै गलत कदम उठाएको भए हामी यो सुन्दर संसार प्रवेश गर्नु अघि नै हाम्रो सृजना अघि नै हाम्रो मानव जिवन के हुदोँ हो । तिमि जन्मने भन्ने महिना सुरु भयो यता हजुरबाले हजुरआमालाई काठमाडौ माइलो छोरा भेट्न पठाउने निर्णय गर्नु भयो उहाँले त्यतिमात्र गर्नु भएन धानको भकारी बन्द गरी, भएको घिउ बाकसमा राखी चाबी लगाउनु भयो र सासु हजुर आमालाई काठमाडौ पठाउनुभयो । धेरैले गीतमा कोरेको शब्द जस्तो नहुदो रहेछ आफनो मान्छे आफनो नहुदो रहेछ । ति बर्बरता सम्झिदा आफना हरु लाई पनि प्रश्न गर्न मन लाग्छ के ति आफनो थिए र ?
मेरो भाई तिमीलाई याद छ , तिमि जन्मको त्यो दिन भएको घनघोर वर्षा , त्यो दिन आमाले तिमीलाई भैसि गोठमा कोदोको भुस माथी गुन्द्री ओछ्याइ त्यहाँ तिमीलाई जन्म दिनु भएको थियो । हजुरबुवाहरुको सोच कहाँ सम्मको अपराधि मानसिकताबाट हुर्किएको थियो कि बच्चा जन्मिदा गोरो हुन्छ भन्ने ज्ञान समते उहाँहरु संग थिएन । तिमी जन्मिदा गोरो सुन्दर रंगको थियौ । तिमिलाई गोरो देखेर हजुर बुवाले आफैन छोराकोे वंश होइन भन्न समेत पछि पर्नु भएन र कति सम्म आमाले हाम्रो जन्म पछि पिडा खेप्नु भयो ति दिनका समझना आज पनि चहराउछन बिगतका घाउ बनेर मनका भित्ताहरुमा । ति दिनका कुरा आज म के लेखु कति लेखु सबै यादहरु केवल आसु र पिडाहरु बोकेर आउछन मनका तरेलीहरुमा मेरा ।
हामीले जन्मेको ६ महिना देखि १८ महिना सम्म बुवाआमालाई कति सतायौ । हामीलाई शरिर भरी आएको छालाको रोगले हरेक दिन आउने रातहरुलाई कहाली लाग्दो बनाएका थिए कति रातहरु अनिद्रामा बिते म के भनु । हामीलाई हेरचाह गर्न आमाबुवा पालो गरेर एक रात आधा आधा निदाउनु हुन्थयो । उहाँहरुले सन्तानको मायाँमा डुेबर मात्र होईन मन निचोरेर हाम्रो जिवन सिंचित गर्नु भएको थियो ।
एक दिन तिमि सानैमा खेल्दै गर्दा काठको भुस र माटो खादाँ तिमी निकै बिरामी पर्यो । तिमी बाचौला भन्ने आश परिवपारमा थिएन । लामो उपचार पछि तिम्रो पेटबाट १०६ ओटा जुका एकै पटक डाक्टरले निकालेका थिए । तिमी त्यतिबेला १८ महिनाको थियौ मेरो भाई । तिम्रो चञ्चले स्वभाव चुलबुले बानी तिमी सानै देखि तृक्ष्ण दिमागको थियौ ।
मलाई याद छ सानो मा तिमिले ‘पानको पात’, ‘रातो स्याउ दाना’ भन्ने गीत गाउँदै दौरा सुरुवालमा नाचेको, साथीहरु सँग गुच्चा खेलेर फर्किसकेपछि गुच्चा पाँई पाँई भन्दै दौडिदै घर आएको कुरा आँखा चिम्म गरेर सम्झिदा तिमि आज पनि त्यसतै छौ र उहि उमेरमा छौ । गीत सुन्न अति मन पराउने तिमी त्यतिबेला घरमा क्यासेट थियन तर तिमिले आफ्नो रहर पुरा गर्न लामो ढुङ्गामा बुवालाई डोरी बाँध्न लगाएर काँधमा भिरेर हिड्थ्यौ । एक दिन तिम्रो इच्छा देखेर बुवाले पानासोनिक कम्पनीको क्यासेट किनिदिनुभएको थियो ।
धेरै कुराहरु आज याद बनेर मनका् परिक्रमा गर्छन गहभरि आँशु भरिने धेरै समझनाहरु छन् । जब तिमि १० वर्षको थियौ सकि नसकि बालुवा बोकेर तिमीले पहिलो १ सय ६० कमाएर आमालाई दिएको कुरा सम्झिदा मन भक्कानिएर आउछ भाई , मन लागेका कुरा चाहेर पनि हामी भन्न सक्दैनथ्यौ किनकि सानै देखि बुवाआमाको दुखलाई हामीले गहिराइमा बुझेका थियौ । बुवा सँधैभरि मेरो छोराछोरी जस्तो कोहि छैन यहि सोच्नु हुन्थ्यो । भाई तिम्रो उमेर बढिरहेको छ मलाइ आज पनि ति दिनका याद उहि दिनका समझना बनेर म तिर हुत्तिएर आउछन । तिमि र म बुवाले मलाई बनाइदिएको कछुवा खेलेको, क्यारेम बोर्ड खेलेको, तिमि सँगै मैले गुच्चा खेलेको, तिमिलाई पेट दुख्दा पिठ्युमा बोकि आकाशको जुन देखाउदै तिम्रो दुुखाइ भुलाइदिएकको त्यो दिन मलाई आज कुनै चलचित्रको चलिरहने सुन्दर दुश्य जस्तो लाग्छ ।
तिम्रो लागी के कति गर्न सके त्यो म यहाँ शब्दमा पोखिन त्यो तिमी महसुस गर्न सक्छौ तर तिमिले मलाई जहिले बुवा पछिको अर्को अभिभावक बनाईदिएको त्यो कुरा तपाई मेरा (बुवा पछिको अर्को बुवा भन्ने) शब्दले थप जिम्मेबारी बोध गराइरहन्छ मलाई । भाइको हरेक संघर्षको पछाडि म उसको उत्साह साहष र बलियो आधार बनेर ठडिनु पर्छ भन्ने मलाइ सधै बोध हुन्छ । भाई हामीले कोभिडमा हाम्रो बुवा गुमायौ , हामीले बुवा मात्र होईन आफनो छत गुमायौ साहारा प्रेम अनि हाम्रो आर्दश गुमायौ तर तिमी आज जहाँ छौ जुन स्थानमा पुगिसक्यौ म र आमा यहि कुरामा खुसी छौ आन्नदीत छौ ।
हामी मात्र होईन आकाशको फराकिलो संसारबाट चम्किरहने तारामा समाहित हुन भएको बुवाको चमक थप चम्किलो बनेको होला सायद यो तिम्रो प्रगति देखेर । तिमीले यो विषम परिस्थितिमा कोरोनाको बिरामीको उपचारमा खटिएका थियौ र छौ ती हातहरु कहिले नथाकुन , समाज र राष्ट्रको हितको लागी फैलिएका पखेटाहरु कहिले चोटिल नहुन ति सपना अनी जिम्मेवारीको उडानहरु उचाईमा पुगोस । तिमि म बुवाले देखेको सपना र थप आमाले देखेको सपना पुरा गर्न सधै प्रयासमा रहनु ।
जन्मदिनको धेरै शुभकामना मेरो प्रिय भाई !
तिम्रो दिदी अजात काधिरा ,
हालको ठेगाना, ललितपुर
वि.सं.२०७८ माघ ६ बिहीवार १६:००

















