skip this

शहीदको सपना पूर्णताले मात्र सङ्घीयता बलियो हुन्छः मुख्यमन्त्री शाही

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीदले देखाएको बाटो र सपना पूरा गर्न सकेमात्र सङ्घीयता बलियो हुने बताउनुभएको छ ।

‘प्रदेश स्थापना तथा शहीद दिवस २०७९’ का अवसरमा आज उहाँले स्वदेश तथा विदेशमा रहनुभएका कर्णालीवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । सङ्घीय व्यवस्था बलियो एवं दिगो तथा प्रभावकारी बनाउन प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “सङ्घीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिएर आफुसँगै राख्दा प्रदेश सरकार कमजोर बनेका छन् । यसले सङ्घीय व्यवस्था मजबुत हुन सक्दैन । प्रदेश सरकारलाई बलियो बनाउन सकेमात्र सङ्घीयता बलियो हुन्छ । आन्दोलन र शहीदको बलिदानबाट कर्णाली प्रदेशको स्थापना भएको हो ।”

दशकौँदेखि पछाडि पारिएको कर्णालीलाई सङ्घीय संरचनामा सुदूरपश्चिमसँग जोडेपछि त्यसको विरोधमा छुट्टै प्रदेशको माग गर्दै २०७२ साउन २३ देखि भदौ ४ गतेसम्म कर्णालीमा आन्दोलन भएको थियो । प्रदेश प्राप्तिको उक्त आन्दोलनका क्रममा ज्यानको आहुति दिनुहुने जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका टीकाराम गौतम, यामबहादुर बिसी र गोपालसिंह रजवारको सम्झनामा ‘शहीद स्मारक पार्क’ स्थापना गरिएको छ ।

प्रदेश सरकारले चालु आवमा शहीद स्मृति भत्ता र उनीहरुको परिवारका सन्ततिका लागि छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिका लागि ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोच पूरा गर्न ‘६ ब’ को नीति अगाडि सारेको बताउनुभयो ।

प्रदेश स्थापनाका अवसरमा आज कर्णाली प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाय, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले शहीद पार्क पुगेर माल्यार्पण गनुभएको थियो ।

nijgadh-supermart-adz1200-630