आज गाईजात्रा : शोक र उल्लासको संगम
वि.सं.२०७९ साउन २७ शुक्रवार ०७:३०

काठमाडौं-आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ ।
काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाइजात्रा तत्कालीन राजा प्रताप मल्लले पालाबाट सुरु भएको हो ।
पछिल्ला वर्षमा गाईजात्राका दिन देशभरका नेवार समुदायलाई बिदा दिने गरिएको छ । तर, यो वर्ष आज नै रक्षाबन्धन पनि रहेकाले देशभर सार्वजनिक बिदा छ ।
कसरी सुरू भयो ?
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको भनिने गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ ।
यद्यपि गाईजात्रा प्रताप मल्लको समयभन्दा अघि नै थालिएको तर्क गर्ने विद्वानहरू पनि छन् । प्रताप मल्लले कुनै पनि अभिलेखमा यो पर्व आफूले शुरू गरेको उल्लेख नगर्नु र गोपालराज वंशावलीमा पनि त्यस्तो उल्लेख नहुनुले यो पर्व कम्तीमा ६०० वर्ष पहिले नै शुरू भइसकेको ती विद्वानहरूको तर्क छ । ६०० वर्ष पहिले जयस्थिति मल्लको समयको गोपालराज वंशावली (पत्र ६१) मा ‘साँ यात’ उल्लेख छ । यो भनेको ‘गाईको यात्रा’ हो । यसले गाईजात्रा जयस्थिति मल्लको समयभन्दा पनि पहिल्यै शुरू भएको पुष्टि गर्ने संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठको तर्क छ ।
गाई यात्रालाई जात्राको रूपमा विकास भने काठमाडौंका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको समयमा भएको उनको मत छ । त्यो बेला गाईजात्रामा बाजागाजाको संस्कार थपिएको श्रेष्ठ बताउँछन् । जसरी र जहिले शुरू भए पनि गाईजात्रा पर्व हाँसो र आँसुको संगम रहिआएको उनी बताउँछन् ।
गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
गाईजात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा पनि धुमधामका साथ मनाइन्छ ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यंग्य अंक प्रकाशित गरिन्छ ।
वि.सं.२०७९ साउन २७ शुक्रवार ०७:३०

















