सरू बस्नेतको कविता : बाबा

वि.सं.२०७८ असोज २ शनिवार ०८:५४

छन्द: मन्दाक्रान्ता
- सरू बस्नेत
“आमा !” भन्दै सरस कविता गीतमा हुन्छ गान
जानाैं हामी जनक नभए हुन्न उम्दा जहान
बाआमा हुन् वरपर हुने एक सिक्कासमान
बाबा आमा रवि शशि भनी गर्न थालाैं बयान ॥१॥
हुन्नन् काेही तनयतनया बाविना सिर्जिंदैनन्
छाेराछाेरी अघिअघि सरी बाघझैं गर्जिंदैनन्
बाबा गर्छन् अति जतनले गेहकाे देखभाल
बाबा नै हुन् तट र तटिनी शुक्ल झर्ना र ताल ॥२॥
बाबा गर्छन् श्रम अति कडा स्वेदधारा बगाई
च्याँखे थाप्छन् हरकिसिमका दाउ धेरै लगाई
बाबा हाम्रा महल घरका हुन् मियो भार धान्ने
छाेराछाेरी तलतिर परे न्यूरिई स्वाट्ट तान्ने ॥३॥
बाबा अग्ला धवल गिरि हुन् हेमका साैम्य रूप
तिर्खा लाग्दा प्रगतिपथकाे खन्दछन् बेस कूप
हुन्छन् बाबा भुवनभरका भावनाका निकुञ्ज
साजी सेता नव धरहरा चेतका दिव्य पुञ्ज ॥४॥
साेचीसम्झी सकल जनले उच्च सम्मान गर्नू
हुन्छन् नाना सकस उनका शाेक सन्ताप हर्नू
नामी दामी मणिमुकुटझैं ओज हुन् दिव्य ताज
ठानाैं बाबा गुण र गरिमा अग्रगामी समाज ॥५॥
– निजगढ–७ बारा

वि.सं.२०७८ असोज २ शनिवार ०८:५४