सिरहाको धनगढीमाई नगरपालिकामा ई पेमेन्ट सेवा सुरु
वि.सं.२०७८ असोज २ शनिवार ०९:५५
लहान : सिरहाको धनगढीमाई नगरपालिका सिरहाले शुक्रबार स्थापनाको छैठौं वार्षिकोत्सवको अवसरपारेर विद्युतीय भुक्तानी (ई पेमेन्ट) सेवा सुचारु गरेका छन् ।
सूचना प्रविधिको अधिकतम उपयोग गर्दै जनतालाई छिटो छरितो एवम् सहजताको लागि विद्युतीय भुक्तानी सेवाको प्रारम्भ गरिएको नगरप्रमुख हरिनारायण चौधरीले जनाए ।
विद्युतीय भुक्तानी सेवासँगै नगरवासी एवम् देश विदेश तथा दुरदराजमा बसेका नगरवासीलाई प्रशासनिक कामको लागि कार्यालय धाउनुपर्ने वाध्यता हट्ने आँकलन नगरपालिकाको छ । प्रदेश २ मा सम्भवतः यस्तो सेवा दिने पहिलो नगरपालिका हुन सक्ने बुद्धिजीवीहरु बताउँछन् ।
विद्युतीय भुक्तानी सेवालाई प्रभावकारी ढंगले अगाडि बढाउन सबै वडाध्यक्षहरुलाई आग्रह गर्दै नगरबाट निर्देशित सेवालाई विना झन्झटिलो तरिकाले समयमै सेवाग्राहीलाई सेवा दिन कर्मचारीलाई निर्देशन समेत गरिएको छ ।
चौध वटा वडा रहेको नगरपालिकाको सबै वडाहरुबाट जनताको घरदैलोमै विद्युतीय सेवाबाट सेवा प्रवाह गरिरहेको छ । नगरपालिकाको स्थापनाको दिवसको उपलक्ष्यमा नगरपालिकालाई जग्गादान गर्नेलाई सम्मान समेत गरेका छन् ।
वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि नगरपालिकाका दुई जना कर्मचारी नयनपुर अस्पतालमा कार्यरत ल्याब टेक्निसियन सन्ध्या लामा र ईलेक्ट्रिसियन वेदानन्द चौधरीलाई नगरपालिकाको कार्ययोजना कार्यन्वयनमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै जनही २५ हजार नगद सहितसम्मान गरेका थिए ।
वि.सं.२०७८ असोज २ शनिवार ०९:५५