कविता : देश नै हो प्रधान

वि.सं.२०७८ असोज ९ शनिवार १८:३९

मन्दाक्रान्ता छन्द
शिरीष बन्जाडे
मेरो छाती अचल बलियो बज्र रोक्ने समान
हीरा फोड्छन् सहज सँगले हात मेरा जवान ।
यो बेलामा तरुण जिउँदो बाघ छोप्ने छ फूर्ती
पाए लान्थेँ गिरिगगन जो काँधमा च्याप्प बोकी ।।
ईष्र्या बढ्दा कमसल भयो राज्यको राजनीति
सत्ता च्याप्छन् प्रतिनिधिहरू नीति कानून मेटी ।
नेपाली हौँ विभव नफसी देशका लागि लड्छौँ
हासी हासी रगत सहजै देशलाई दिनेछौँ ।।
बैरी आई दिन दिन यता सार्न खोज्छ सिमाना
कोही छैनन् धरधर रुने देशको वेदनामा ।
मर्नै पर्दा पनि म सजिलै देशका निम्ति मर्छु
आफू बाच्दातक हरघडी देशका निम्ति बाचूँ ।।
सारा नेता लघु नियतिका देशलाई बिगारे
पालैपालो प्रतिपल लुछी देशलाई ढलाए ।
नेता बन्दै हिमशिखरझैँ देशलाई उठाऊँ
आफैँ नौलो द्रुत गति लिई देशलाई म हाकूँ ।।
चाहे खुट्टा अनि करहरू नेल ठोकेर बाध
चाहे मेरो शिर तन दुवै लौ छिनालेर राख ।
जेजे सक्छौ सब गर तिमी किन्तु बेचिन्न मान
आमा भन्दा अझ प्रिय छ यो देश नै हो प्रधान ।।
-शिवराज-५-चन्द्रौटा, कपिलवस्तु

वि.सं.२०७८ असोज ९ शनिवार १८:३९