गृहमन्त्री लामिछाने र प्रधानमन्त्री दाहालबीच भेटवार्ता, समसामयिक विषयमा छलफल
वि.सं.२०७९ पुस १६ शनिवार १०:२१

काठमाडौं । आज बिहान गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीतिबारे छलफल गरेका छन्। उनीहरुबीच शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल भएको छ।
प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको पहिलो बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाउने निर्णय गरेको थियो। एमाले महासचिव शंकर पोखेलका अनुसार सत्ता साझेदार दलले सरकारसँग समन्वयका लागि एमाले अध्यक्ष ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाइएको हो। उक्त संयन्त्रमा नयाँ सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताहरू रहनेछन्।
वि.सं.२०७९ पुस १६ शनिवार १०:२१

















