नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा शाहलाई थप अनुसन्धानका लागि गैंडाकोट लगियो
१६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजाय
वि.सं.२०७८ फागुन २४ मंगलवार १६:०३

काठमाडौं । एक नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा नायक पल शाहलाई पूर्वी नवलपरासी लगिएको छ।
पूर्वी नवलपरासीमा पनि किशोरीले जाहेरी दिएका कारण उनलाई थप अनुसन्धानका लागि नवलपरासी लगिएको हो।
पूर्वी नवलपरासीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट ल्याइसकिएको र उनीमाथि बयान लिने कार्य सुरु गरिने बताए।
जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि उजुरी परेको थियो।
गत फागुन १६ गते गैंडाकोटमा पीडित किशोरीले शाहविरुद्ध जाहेरी दिएकी थिइन्। पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर विभिन्न ठाउँमा पटक पटक जबर्जस्तीकरणी गरेको उजुरीपत्रमा आरोप लगाइएको छ।
मुलुकी अपराध संहिता २०७४ अनुसार मजुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ। १६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ। पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ।
थप समाचार….
वि.सं.२०७८ फागुन २४ मंगलवार १६:०३
















