यसरी टुंगियो प्रदेश २ को कांग्रेस क्रियाशील विवाद, सोमबारसम्म नाम वेवसाइटमा इन्ट्री हुने

वि.सं.२०७८ असोज ३ आइतवार २२:१२

काठमाडौं : लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद लगभग टुंग्याएको छ ।
२० जिल्लामा क्रियाशील सदस्यताकै कारण अधिवेशन प्रभावित भएको थियो । २० मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भई सार्वजनिक भइसकेको छ भने बाँकी १३ जिल्लाको सदस्यता विवाद टुंगो लगाइएको नेताहरुले बताएका छन् ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो । यद्यपि रसुवाको क्रियाशील सदस्यता विवाद भने सल्टिन बाँकी छ ।तीन नेताले गरेको सहमति कार्यान्वयनको जिम्मा क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीलाई दिइएको छ ।
प्रदेश २ को सबै विवाद टुंगियो
प्रदेश २ का आठ वटै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन । सदस्यता छानविन समिति सदस्य रहेका केन्द्रीय सदस्य आनन्द ढुंगानाका अनुसार बाराबाहेक सबै सातवटै जिल्लाको क्रियाशील सदस्यताको काम सकिएको छ ।
बाराको विवाद मिलिसकेको छ, र सोमबारसम्म क्रियाशील सदस्यको नाम वेवसाइटमा इन्ट्री गरेर पनि सकिने उनले बताए । ‘सदस्यतामा विवाद पहिल्यै सकिएको हो, तर कार्यान्वयनमा केही विवाद थियो । अब हामीले त्यो पनि सल्टाएका छौं,’ उनले भने, ‘बारामा पनि कुरा मिलिसक्यो । भोलि सबै साथीहरुलाई बोलाएर सदस्यता इन्ट्री गर्छाैं ।’
सबै जिल्लाको विवाद टुंगिएसँगै कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताएका छन् । ‘जहाँ ५ असोजमा वडा अधिवेशन हुन्छ, त्यहाँ कार्यतालिका अनुसार नै काम हुन्छ, जहाँ त्यो दिन भएन, अरु दिन भएपनि वडा अधिवेशन गराएर अगाडि बढ्छौं’ उनले भने ।
उनका अनुसार बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र – १ मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ भने निर्वाचन क्षेत्र–२ को १७ वडामा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुनेछ । क्षेत्र नं. ३ को कलैया उपमहानगरपालिकाका केही वडामा पनि नयाँ सदस्यता स्थगन गरिएको छ ।
रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा क्रियाशील सदस्यता विवाद थियो । त्यहाँ अब सदस्यता थप गर्ने सहमति गरेका छन् । ‘१३ औं महाधिवेशनका २१६ क्रियाशील सदस्यता संख्या केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको निर्णयपछि केन्द्रबाट हटाइएको थियो, अब ती संख्या फेरि थप गर्ने सहमति भएको छ,’ एक सदस्यले भने ।
पर्साको वीरगञ्जमा सदस्यता छानविन समितिका संयोजक रमेश लेखक, आनन्द ढुंगाना र जीवन परियारसहित रौतहटका सबै पक्षका नेताहरुसँग छलफल गरेर सहमति भएको हो ।
त्यस्तै सप्तरी जिल्लाको निर्वाचन क्षेत्र १, २ र ४ मा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन प्रक्रिया शुरु हुनेछ ।
सर्लाहीको क्रियाशील सदस्यता टुंगिएर छपाइमा गइसकेको केन्द्रीय सदस्य ढुंगानाले जानकारी दिए ।
लेखक संयोजक रहेको समितिले प्रदेश दुईका बारा र सप्तरीको क्रियाशील सदस्यता फाइल नै खोलेको थिएन भने सर्लाही– २ र धनुषा–४ को विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो ।
धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र– ४ को वट्टेश्वर नगरपालिका–५, क्षिरेश्वर नगरपालिका–१० मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ । त्यस्तै मिथिला बिहारी नगरपालिका–६ र १०, लक्ष्मीनिया गाउँपालिका – १ र २ मा वडा सभापतिले सिफारिस गरेकालाई मात्रै मान्यता दिने समझदारी भएको छ ।
क्षिरेश्वर नगरपालिका–७, लक्ष्मीनिया गाउँपालिका–३, ४, ५ र ६, मिथिला बिहारी नगरपालिका–२ र जनकपुर उपमहानगरपालिका–१९ मा वडा सभापतिले सिफारिस गरेका क्रियाशील सदस्यहरुले मात्रै मान्यता पाउने भएका छन् ।
अहिले स्थगन भएका नयाँ क्रियाशील सदस्यतालाई १४ औं महाधिवेशनपछि प्रक्रिया पु¥याएर दिने सहमति ती नेता रहेको कार्यदलले सहमति गरेको छ ।
धनुषाको निर्णय कार्यान्वयन गर्ने जिम्मा केन्द्रीय सदस्य आनन्द ढुंगाना र जीवन परियारलाई दिइएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिएको सदस्यता छानविन समिति सदस्य योगेन्द्र चौधरीले बताए । उनका अनुसार टीकापुर नगरपालिका–१ मा नयाँ स्थगन गरेर पुरानाबाटै अधिवेशन हुने सहमति भएको छ ।
नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा वडाले पेश गरेको सूची र क्षेत्रीय सभापतिले पेश गरेको सूचीमा विवाद देखिएपछि नवीकरणलाई मात्रै मान्यता दिइएको हो ।
कांग्रेसमा लामो समय क्रियाशील सदस्यता विवाद नटुंगिदा पटकपटक महाधिवेशनको मिति सर्दै आएको छ । नयाँ कार्यतालिका अनुसार कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।

वि.सं.२०७८ असोज ३ आइतवार २२:१२