१० केजी गाँजा सहित निजगढका एकजना पक्राउ
वि.सं.२०७८ असोज ९ शनिवार ०९:२३
निजगढ : बारा प्रहरीले १० केजी लागुऔषध गाँजा सहित निजगढ रतनपुरका एकजनालाई पक्राउ गरेको छ । प्रहरी चौकी जैतापुरबाट खटिएको गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित पसाहा खोलाबाट कुशामाडी गाउँतर्फ आउदै गरेको प्रदेश नम्बर २–०३–००२ प २८८५ र ना.१४.प. २५१२ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा निजगढ नगरपालिका वडा नम्बर १२ रतनपुरी बस्ने वर्ष ४३ को किसाने बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
विकसंगै मोटरसाइकलबाट आउदै गरेका अन्य तीनजना तस्कर फरार भएका छन । चेकिङको लागि प्रहरीले दुबै मोटरसाईकलमा सवार चालकसहितका ४ जनालाई रोक्न खोज्दा मोटरसाइकल र साथमा रहेको २ वटा झोला फ्याकेर फरार भएकोले एकजनामात्र पक्राउ परेका हुन ।
झोलाभित्र निलो प्लाष्टिकले बेरेर लुकाइछिपाई राखेको अवस्थामा ५/५ केजी गरी १० केजी गाँजा बरामद भएको प्रहरीले बताएको छ ।
पक्राउ परेका बि.क. विरुद्ध लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान कार्य भइरहेको र फरार अन्यको पनि खोजतलास गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
वि.सं.२०७८ असोज ९ शनिवार ०९:२३