“अबको केही हप्तामै सुकुमवासीलाई लालपुर्जा वितरण गर्छौं : मन्त्री प्रतिभा रावल”
वि.सं.२०८३ जेठ ५ मंगलवार ०७:३०

प्रतिभा रावलले सरकारले अबको केही हप्ताभित्र वास्तविक सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरिरहेको बताएकी छन्। सहकारी क्षेत्र सुधारसँगै सुकुमवासी समस्या समाधानलाई पनि सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।
उनका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान (स्क्रिनिङ) गर्ने काम भइरहेको छ। वास्तविक सुकुमवासीको पहिचानपछि उनीहरुलाई कानुनी रूपमा बसोबासको व्यवस्था गर्दै लालपुर्जा उपलब्ध गराइने तयारी सरकारले अघि बढाएको उनले स्पष्ट पारिन्।
यसअघि काठमाडौंका खोला किनार तथा अतिक्रमित क्षेत्र खाली गराउने क्रममा धेरै परिवार विस्थापित भएका थिए। उनीहरूलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले उनीहरूको अवस्था अध्ययन गरेर दीर्घकालीन समाधान खोज्ने बताएको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि विस्थापित सुकुमवासीलाई अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने विषय उठाइएको थियो। समिति सभापति हरि ढकालले यसबारे जानकारी दिएका थिए।
यता, सुकुमवासी अधिकारकर्मीहरूले भने उचित वैकल्पिक व्यवस्था नगरी डोजर चलाएर बस्ती हटाउनु मानवीय दृष्टिले गलत भएको भन्दै सरकारको आलोचना गर्दै आएका छन्। सर्वोच्च अदालतले पनि व्यवस्थापन र पुनःस्थापनाको प्रक्रिया पूरा नगरी जबर्जस्ती विस्थापन नगर्न आदेश दिएको छ।
वि.सं.२०८३ जेठ ५ मंगलवार ०७:३०
















