कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने–विश्वप्रकाश शर्मा
वि.सं.२०७९ वैशाख ४ आइतवार ०७:१७

काठमाडौं । कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताउनु भएको छ । नेपाली कांग्रेस ठोरी–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको वृहत कार्यकर्ता भेलामा महामन्त्री शर्माले कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय स्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताउनु भएको थियो ।
संविधान रक्षा गर्ने दलहरूसँग कांग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्ने र आगामी स्थानीय तहको निर्वाचनपछि कांग्रेस मुलुकको पहिलो शक्तिका रूपमा उदाउँने उहाँको भनाई थियो । उहाँले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट पार्नु भएको थियो । महामन्त्री शर्माले कांग्रेस कमजोर शक्ति नभएको बताउँदै आगामी तीनवटा सरकार कांग्रेसले चलाउने गरी कांग्रेस अगाडि बढ्ने बताउनु भएको थियो । उहाँले कांग्रेस भाषण भन्दा काममा लाग्ने बताउँदै आगामी निर्वाचनमा काठमाडौं महानगरपालिकामा कांग्रेसले जित्ने दाबी समेत गर्नु भएको थियो ।
वि.सं.२०७९ वैशाख ४ आइतवार ०७:१७

















