अधुरो जेष्ठ नागरिक भवन निर्माण गर्न महायज्ञको तयारीमा जुटे निजगढमा महिला
वि.सं.२०७८ कात्तिक २५ बिहीवार २०:०८

बारा : बाराको निजगढ–५ खोल्माटोलका स्थानीय महिला गाउँमा अधुरो अवस्थामा रहेको जेष्ठ नागरिक भवनलाई पुर्णता दिन महायज्ञ लगाउने तयारीमा जुटेका छन् ।
मुक्तिनाथ एकादशी सत्संघ समुहमा आवद्ध महिलाको अगुवाईमा स्थानीय महिला महायज्ञको प्रचारप्रसारमा जुटेका हुन् । महायज्ञ सफल पार्न न्यु जन जागृति युबा क्लव र निजगढ सिटी क्लवले पनि साथ दिएको छ ।
आगामी मङ्सिर ४ देखि ११ गतेसम्म श्रीमदभागबत सप्ताह ज्ञान माहायज्ञ सञ्चालन हुदैछ । महायज्ञबाट सङ्कलित रकमबाट निजगढ–५ खोल्माटोल मा निर्माणधिन जेष्ठ नागरिक भवनलाई पुर्णता प्रदान गर्ने उदेश्य रहेको आयोजक समितिकी अध्यक्ष आशा चौलागाईले जानकारी दिईन् ।

आर्थिक अभावमा जेष्ठ नागरिक भवन अधुरो अवस्थामा रहेको छ । दुई तले भवनमा एक तलामा एउटा सभा हल र दुई वटा कोठा र माथिल्लो तलामा ट्रष्टसहित सभाहल बनाउने योजना रहेको रहेको छ ।समुहले खरिद गरेको १० धुर जमिनमा निजगढ नगरपालिकाका कार्यपालिका कोषबाट ६ लाख ५० हजार बजेटबाट डिपीसी गरेर उठाएर पिल्लर उठाएर राखिएको छ । आर्थिक अभावमा भवन निर्माण रोकिएको छ । थप जग्गा खरिद गरेर भवन निर्माण पुरा गर्न करिब ५० लाख दान रकम संकलन गर्ने लक्ष राखिएको अध्यक्ष चौलागाईले जानकारी दिईन् ।
उक्त भबन सम्पन्न भएपछि जेष्ठ सदस्य मिलन केन्द्रका रुपमा यसलाइ विकास गर्दै समुदायमा रहेका जेष्ठ नागरिकप्रतिको समाजिक दायित्व पुरा गर्ने अभियान महत्वपूर्ण हुने समुहको विश्वास छ ।
महायज्ञमा युवा पण्डित सुदर्शन प्रसाद चालिसेले संगितमय कथा बाचन गर्नेछन् । महायज्ञको मंसिर ४ गते विहान ७ बजे कलस यात्रा र दिउँसो डेढ बजे कार्यक्रम उद्घाटन गर्ने कार्यतालिका रहेको आयोजकले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार २०:०८

















